Jun 15 2026

Jun 15 2026 | सोमवार, आषाढ १ गते २०८३

अमेरिका-इरान सम्झौतापछि पनि लेबनानबाट इजरायली सेना नफर्किने संकेत

अमेरिका र इरानबीच भएको सम्झौतामा लेबनानको विषय उल्लेख भए पनि इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता नलिने स्पष्ट संकेत दिएको छ ।

‘द जेरुसलेम पोस्ट’ ले  सम्झौताले इजरायली अडान परिवर्तन नहुने उल्लेख गरेको छ ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका–इरान सम्झौतामा लेबनान पनि समावेश भएको र त्यहाँ सैन्य कारबाही तत्काल रोक्ने सहमति भएको दाबी गरेका थिए । तर सम्झौता अन्तिम रूप लिनुअघि नै इजरायलले बेरुतको दहियेह क्षेत्रमा आक्रमण गरेको बताइएको छ ।

आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै तत्काल आक्रमण रोक्न आग्रह गरेका थिए ।

त्यसैगरी इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्विरले अमेरिका–इरान शान्ति सम्झौताप्रति कडा असन्तुष्टि जनाएका छन् । उनका अनुसार राष्ट्रपति ट्रम्पको उक्त सम्झौता इजरायलमाथि लागू हुँदैन र इजरायल यस सम्झौताको पक्ष होइन ।

उनले इजरायल अमेरिका मातहतको देश नभएको भन्दै यो स्वतन्त्र र सार्वभौम राष्ट्र भएको बताएका छन् । साथै उनले सम्झौताले देशको सुरक्षा सुनिश्चित नगर्ने पनि टिप्पणी गरेका छन् ।

बेन ग्विरका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानमा नियन्त्रणमा लिएका क्षेत्रबाट पछि हट्नु नहुने अडान राखिएको छ ।

सम्झौता घोषणा भएपछि दक्षिणी लेबनानका केही स्थानीय बासिन्दा आफ्नो गाउँ फर्किन थालेको बताइएको छ । तर इजरायली सेना (आईडीएफ) ले सबैलाई फर्किन अनुमति दिने वा नदिने विषय अझै स्पष्ट भएको छैन ।

रिपोर्टअनुसार विभिन्न गाउँमा फरक–फरक नियम लागू हुन सक्ने र केही क्षेत्रमा अझै पनि नागरिकको फिर्तीमा रोक रहन सक्ने सम्भावना रहेको छ ।