Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

रेमिट्यान्स रेकर्ड : वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड

चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म नेपालमा भित्रिएको विप्रेषण रकम ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो।

वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड विप्रेषण नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ६५ अर्ब ३० करोड विप्रेषण भित्रिएको थियो । 

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।

वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको देखिएको छ । समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३६४ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको थियो ।