Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

सरकारप्रति ज्ञानेन्द्र शाहीको आक्रोश- कुशासनको बाटोतिर नलाग्नुस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन अघि बढाउन संसद् बैठकबाटै माग भएको छ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेर हुन लागेको विषय चुहावट हुनु सामान्य विषय नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने माग गरेका हुन् ।

अर्थ मन्त्रालयबाट नभइ संसदबाटै समिति गठन हुनुपर्ने उनको भनाइ छ ।

‘देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन, संसदीय छानबिन समिति चाहिन्छ । त्यसबाट छानबिन गर्नुहोस् । करका दर हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो यो ? यो सामान्य कुरा हो ? भन्सारको कर्मचारीलाई थाहा हुने कुरा हो यो ?,’ शाहीले प्रश्न गरेका छन् ।

देशका जम्मा तीन जना मान्छेलाई थाहा हुने विषय चुहिनुलाई गम्भीर रुपमा लिन उनले ध्यानाकर्षण गराए ।

‘देशका जम्मा तीन जना मान्छेलाई थाहा हुन्छ । एउटा अर्थमन्त्री, चाह्यो भने अर्थ सचिव र राजश्व सचिवलाई थाहा हुन्छ । यदी अर्थमन्त्रीले स्वीकृति दिनुभयो भने मात्रै,’ उनले भने, ‘यो ठूलो अपराध हो । सुशासनको आडमा बनेको सरकार हो यो । अहिले आएको १८२ सिट आएको छ, तपाईं हामीले कुनै काम गरेर आएको होइन ।’

साथै, उनले कुशासनको बाटोमा नलाग्न पनि रास्वपालाई आग्रह गरे ।

‘जनता वाक्क भएर सुशासन हुन्छ भनेर आएका हुन् । अहिले कुशासनको बाटोतिर नलाग्नुस्,’ उनले भने ।