Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

१९ वर्षीया एन्ड्रीभाले जितिन् पहिलो फ्रेन्च ओपन उपाधि

रूसकी १९ वर्षीया मिरा एन्ड्रीभाले पहिलो पटक फ्रेन्च ओपन महिला एकलतर्फको उपाधि जितेकी छन् । शनिबार सम्पन्न फाइनलमा उनले पोल्यान्डकी माया ख्भालिन्स्कालाई सोझो सेटमा ६–३ र ६–२ ले पराजित गरिन्।

१ घण्टा २२ मिनेटसम्म चलेको खेलमा एन्ड्रीभाले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वीमाथि दबाब बनाएकी थिइन् । यो उनको करिअरकै पहिलो ग्रान्ड स्लाम उपाधि हो ।

एन्ड्रीभा फ्रेन्च ओपन जित्ने इतिहासकै दोस्रो सबैभन्दा कम उमेरकी खेलाडी बनेकी छन् । यसअघि सन् १९९२ मा १८ वर्षको उमेरमा मोनिका सेलेसले यो उपाधि जितेकी थिइन् ।

पहिलो सेटमा दुवै खेलाडी ३–३ को बराबरीमा रहे पनि त्यसपछि एन्ड्रीभाले लगातार तीन खेल जित्दै सेट ६–३ ले आफ्नो पक्षमा पारिन् । दोस्रो सेटमा पनि उनले सुरुआती अग्रता कायम राख्दै लगातार खेल जितिन् र ६–२ को नतिजासहित उपाधि कब्जा गरिन् ।

उपाधि जितेपछि एन्ड्रीभा भावुक देखिएकी थिइन् । उनले आफ्नो टोली र परिवारलाई धन्यवाद दिँदै रोलाँ गारोमा उपाधि जित्नु बाल्यकालदेखिको सपना पूरा भएको बताइन् ।

यस सफलतासँगै एन्ड्रीभा सन् २०२० मा इगा स्वियातेकपछि फ्रेन्च ओपन महिला एकल जित्ने किशोर उमेरकी खेलाडी बनेकी छन् । साथै, उनी मोनिका सेलेसपछि फ्रेन्च ओपन जित्ने सबैभन्दा कम उमेरकी महिला च्याम्पियन पनि बनेकी छन् ।

उपविजेता ख्भालिन्स्काको यात्रा पनि स्मरणीय रह्यो । विश्व वरीयतामा ११४औँ स्थानमा रहेकी उनी छनोट चरण पार गर्दै मुख्य प्रतियोगितामा प्रवेश गरेकी थिइन् । लगातार नौ खेल जित्दै फाइनल पुगेकी उनले प्रतियोगिताका क्रममा विश्व नम्बर एक आर्यना साबालेन्कालाई समेत पराजित गरेकी थिइन् । खेलपछि ख्भालिन्स्काले एन्ड्रीभाको प्रशंसा गर्दै उनी आफूभन्दा उत्कृष्ट खेलाडी साबित भएको प्रतिक्रिया दिइन् ।