Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

तनहुँमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीस्थित पृथ्वी राजमार्गमा एम्बुलेन्स र मिनी ट्रक एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ६: २० बजे पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एम्बुलेन्स चालकसहित ६ जना तथा मिनी ट्रक चालक एक जना गरी सात जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा रोल्पाको थवाङ गाउँपालिका–२ निवासी २४ वर्षीय एम्बुलेन्स चालक कुशल परियार, ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अन्जना बुढा मगर, उनका ३ वर्षीय छोरा युवान बुढा मगर, पूर्वी रुकुमको भूमे गाउँपालिका–७ निवासी ३६ वर्षीया चिजमाया घर्ती, रोल्पाको थवाङ गाउँपालिका–२ निवासी ६० वर्षीय धनप्रसाद बुढा मगर तथा मिनी ट्रक चालक तनहुँको म्याग्दे गाउँपालिका–२ निवासी ३८ वर्षीय महेन्द्र रानाभाट रहेका छन्।

घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।