Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक पक्राउ

शेल कम्पनी खडा गरी पटक–पटक कर्जाको दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्।

धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले जानकारी दिएको छ । अनुसन्धान अनुसार पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्रा.लि.’ नामक कागजी कम्पनी खडा गरी बिना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा धितोको अस्वाभाविक बढी मूल्यांकन गराई कर्जा लिएको पाइएको छ।

प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा जुन प्रयोजनका लागि लिइएको थियो, सोही प्रयोजनभन्दा बाहिर प्रयोग गरी पटक–पटक कर्जाको दुरुपयोग गरेको आरोप उनीमाथि छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा संलग्न रहेको भन्दै उनीविरुद्ध उच्च अदालत पाटन, ललितपुरले २०८२ साल मंसिर २८ गते पक्राउ अनुमति जारी गरेको थियो।

त्यही अनुमति आधारमा बुधबार उनलाई पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको सिआईबीले जानकारी दिएको छ ।