Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

बागमती सेवा समाज नेपालद्वारा स्वच्छ हावा चुलो वितरण कार्यक्रम शुभारम्भ

बागमती सेवा समाज नेपालद्वारा स्वच्छ हावा चुलो वितरण कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाको पर्सा गाउँपालिकामा चुलो वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ। उक्त कार्यक्रम ECCA Nepal र Earthfit को सहयोगमा सञ्चालन भइरहेको छ। 

यसअघि सर्लाही जिल्लाका बिष्णु गाउँपालिका, धन्कौल गाउँपालिका, बँसबरीया गाउँपालिका र चक्रघट्टा गाउँपालिकामा गरी १२ हजारभन्दा बढी स्वच्छ हावा चुलो वितरण भइसकेको छ। पर्सा गाउँपालिकामा मात्र २,९२८ वटा चुलो वितरण गरिने जानकारी बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक रामकृष्ण रायले दिएका छन्।

WhatsApp Image 2026-06-03 at 9.18.01 AM.jpeg

वातावरणमा बढ्दो वायु प्रदूषणलाई न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको उद्घाटन पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादवले गरेका थिए।  कार्यक्रममा वडा नं. ३ का वडाअध्यक्ष रघुनाथ साह, वडा नं. ५ का वडाअध्यक्ष अनिल यादव, वडा नं. १ का वडाअध्यक्ष सतेन्द्र यादव तथा वडा नं. २ का वडाअध्यक्ष राकेश राम लगायत जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रम नेतृत्वकर्ता राजु साहले स्वच्छ हावा चुलोले परम्परागत चुलोको तुलनामा करिब ८० प्रतिशतसम्म कम धुवाँ उत्पादन गर्ने जानकारी दिनुभयो। उनका अनुसार यस्ता चुलोको प्रयोगले घरभित्र हुने वायु प्रदूषण घटाउनुका साथै दम, क्षयरोग (टीबी) तथा अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरूको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

WhatsApp Image 2026-06-03 at 9.18.00 AM.jpeg

कार्यक्रममा सहभागीहरूले स्वच्छ हावा चुलोको प्रयोगले स्वास्थ्य सुधार, वातावरण संरक्षण तथा इन्धन बचतमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। बागमती सेवा समाज नेपालले आगामी दिनहरूमा पनि समुदायको स्वास्थ्य सुधार तथा वातावरण संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।