Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

दयामुखी पत्रकारिता छोडेर अधिकारमुखी पत्रकारिता कहिले गर्ने?

काठमाडौंमा हालै सम्पन्न एकदिने अन्तरक्रिया कार्यक्रम केवल छलफल मात्र थिएन, यो अपाङ्गता भएका महिलाको जीवनयात्रा, संघर्ष र सम्भावनालाई समाजको अगाडि ल्याउने एउटा प्रयास थियो। पहिचान नेपालको आयोजनामा यहिँ जेश्ठ १४ गते भएको उक्त कार्यक्रममा समाजसेवी, सञ्चारकर्मी, महिला अधिकारकर्मी, अपाङ्गता अधिकार अभियन्ता तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी थिए।

सामाजिक बहिष्करण, आर्थिक अवरोध, शिक्षा र रोजगारीमा सीमित पहुँच, हिंसा र वित्तीय बहिष्कार। यी चुनौतीहरूले  महिलाहरूको जिवन स्तरलाई अझ कठिन बनाएको छ। तर यसै कठिनाइबीच पनि उनीहरुको दृढता, आत्मविश्वास र निरन्तर प्रयासले समाजलाई नयाँ दृष्टिकोण दिन सक्छ भन्ने सन्देश उक्त अन्तरक्रियाले दिन खोजेको थियो।  विशेषज्ञ डा. विरेन्द्र राज पोखरेलले प्रस्तुत गरेको कार्यपत्रले अपाङ्गता भएका महिलाको सामाजिक अवस्था र आर्थिक अवरोधलाई गहिरो रूपमा चित्रण गर्‍यो। उनले पत्रकारहरुलाई अधिकारमुखीपत्रकारिता गर्नु पर्ने बताए। दयामुखी पत्रकारिता छोडेर  अधिकारमुखी पत्रकारिता अपनाउन पत्रकारहरुलाई  आग्रह गरे।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव निरा अधिकारीले राज्यका नीति, कार्यक्रम तथा सेवामा अपाङ्गता भएका महिलाको समान पहुँच सुनिश्चित गर्न संवेदनशीलता बढाउनुपर्ने धारणा राखिन्। त्यसैगरी उनले अपाङ्गता भएका महिलाको मुद्दालाई आफ्नै मुद्दा सम्झेर निरन्तर काम गरिरहेको बताइन्।

WhatsApp Image 2026-05-31 at 1.29.43 PM.jpeg

पहिचान नेपालकी कार्यकारी निर्देशक इक्ष्या केसीले आफूहरूको  आवाज अझै पनि सञ्चारमाध्यम र सार्वजनिक बहसमा पर्याप्त स्थान नपाएकोमा गुनासो गरिन्।  आफूहरूको मुद्दालाई अधिकार, समानता र सम्मानको दृष्टिकोणबाट सञ्चारमाध्यमहरूले प्रस्तुत गर्नुपर्नेमा केसीले जोड दिदिइन्। कार्यक्रममा लक्ष्मी सापकोटाको कथा प्रेरणाको स्रोत बनेको थियो। २६ वर्षपछि एसईई परीक्षामा सहभागी भई A+ ल्याएर उनले अपाङ्गता भएका महिलाको दृढता र आत्मविश्वासको प्रेरणादायी उदाहरण प्रस्तुत गरिन्। पहिचान नेपालले उनलाई विशेष सम्मान गरेको थियो। सहभागीहरुले उनको सफलतालाई अपाङ्गता भएका महिलाहरुका लागि प्रेरणादायी उपलब्धि मानेका थिए।  प्रशंसा छेत्रिले पनि आफ्ना अनुभव साझा गर्दै अपाङ्गता भएका महिलाले समाजमा सामना गर्नु परेका  चुनौती र निरन्तर प्रयासमार्फत हासिल गरेका उपलब्धिबारे प्रकाश पारिन्।

छलफलमा एकल महिला मधेसी, दृष्टिविहीन तथा अन्य सीमान्तकृत पृष्ठभूमिका महिलाहरूले  बहुआयामिक विभेद र असमानताको सामना गरिरहेको विषय उठान गरिएको थियो।  उनीहरुको अनुभव, आवश्यकता र योगदान सार्वजनिक बहस तथा सञ्चारमाध्यममा पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको उल्लेख गरिएको थियो। कार्यक्रम अधिकृत जेनिशा महर्जनले सहजिकरण गरेकि थिइन्।  उक्त कार्यक्रममा सहभागीहरुले समाचार, लेख, बहस तथा अन्य सञ्चार सामग्रीमा समावेशी र उत्तरदायी ढंगले विषयवस्तु प्रस्तुत गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए। यसका साथै सञ्चारमाध्यम, नागरिक समाज र सरोकारवालाबीच सहकार्य विस्तार गरी अपाङ्गता भएका महिलाको आवाजलाई नीति, कार्यक्रम तथा सार्वजनिक बहसमा प्रभावकारी रूपमा स्थापित गर्न आवश्यक रहेको सरोकारवालाहरुले धारणा व्यक्त गरे।

पहिचान नेपालले गरेको  अन्तरक्रिया कार्यक्रम केवल एक दिनको छलफल मात्र होइन, अपाङ्गता भएका महिलाहरुको  आवाजलाई समाजको केन्द्रमा ल्याउने  प्रयास थियो। यसले देखाएको छ कि अधिकारमुखी पत्रकारिता, समावेशी नीति, र सहकार्यपूर्ण संयन्त्रले मात्र उनीहरुको जीवनमा वास्तविक रूपान्तरण सम्भव बनाउँछ। उक्त संस्थाले बेलाबेलामा  जनचेतना मुलक विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।