टिकटकमा ‘तुलसा अधिकारी’ नामले परिचित तुलसी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। नेपाल प्रहरीका अनुसार उनलाई हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको छ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा रेड नोटिस जारी भएको र सोही आधारमा पक्राउ गरी नेपाल ल्याइएको जानकारी दिए।
अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो।
प्रहरीका अनुसार परिवर्तित नाम ‘शंकर चिमोरिया’ ले दिएको जाहेरीका आधारमा अधिकारीमाथि आपराधिक लाभ, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
जाहेरीमा ‘हनी ट्र्याप’ मार्फत आपराधिक लाभ लिई ठगी गरेको आरोप उल्लेख गरिएको छ। सोही प्रकरणमा अनुसन्धानपछि उनीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले अधिकारीमाथि लगाइएका आरोपबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।