श्रम संस्कृति पार्टीले आगामी २०८४ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा धनबहादुर राईलाई उठाउने घोषणा गरेको छ । बिहीबार श्रम संस्कृतिले राईलाई मेयरको उम्मेदवारका रूपमा अघि सार्ने औपचारिक निर्णय गरेको हो ।
मेयरका प्रस्तावित उम्मेदवार राई धरान उपमहानगरपालिका–४ का पूर्ववडाध्यक्ष हुन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । तर, उनले सुरुदेखि नै स्वतन्त्रबाट मेयर बनेका हर्कराज राई (साम्पाङ) लाई सघाउँदै आएका थिए । धरान कार्यपालिकामा उनी साम्पाङलाई साथ दिने एक्ला वडाध्यक्ष मानिन्थे ।
साम्पाङको श्रम अभियानमा निरन्तर जोडिएपछि एमालेले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । एमालेको कारबाहीलगत्तै उनले वडाध्यक्ष पदबाट राजीनामा दिएका थिए । साम्पाङले श्रम संस्कृति पार्टी गठन गरेपछि उनी गत फागुन १६ गते उक्त पार्टीमा प्रवेश गरेका थिए ।
पार्टीले मेयरको उम्मेदवार घोषणा गरेपछि राईले पार्टी अध्यक्ष हर्क साम्पाङलाई धन्यवाद दिएका छन् । उनले भने, ‘स्थानीय तह र प्रदेशको चुनाव नजिकिएको बेला हाम्रो पार्टीका अध्यक्ष माननीय हर्कराज साम्पाङ ज्यूले मेयरको उम्मेदवारमा चयन गर्नुभयो । उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’
श्रम संस्कृति पार्टीबाट धरानको मेयरका लागि धनबहादुरसहित दिनेश राई, निनाचन्द्र राई र सुमन श्रेष्ठ पनि आकाङ्क्षी थिए । तर, पार्टीले राईको नाममा सहमति जुटाएको हो ।
यस्तै, श्रम संस्कृति पार्टीले भर्खरै पार्टी प्रवेश गरेका पूर्वमन्त्री सुदन किरातीलाई कोशी प्रदेशको प्रस्तावित मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने तयारी गरिसकेको छ ।