नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीको केन्द्रीय नेतृत्व सभापति गगन थापा पक्षप्रति आक्रोश पोख्दै उनीहरूले पार्टीमा भ्रम फैलाएको आरोप लगाएका छन्। धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बलायरले यस्तो बताएका हुन् ।
उनले नयाँ भनाउँदा नेताहरूले पार्टीको जग र बलिदान नबुझेको भन्दै कडा चेतावनी दिएका छन्। सम्बोधनका क्रममा सभापति बलायरले सभापति गगन थापाको नाम नलिई उनीप्रति लक्षित गर्दै कडा व्यङ्ग्य गरे।
‘२०४० सालमा जन्मेकाहरूले बीपी कोइरालासँग बनारसमा भेटेको गफ दिइरहेका छन्। यो अप्राकृतिक कुरा हो, थापाले पार्टी सदस्यता नवीकरण र लेवीका विषयमा दिएको अभिव्यक्तिप्रति हाम्रो आपत्ति छ, हिजो महामन्त्री हुँदा नवीकरण गर भनेर परिपत्र गर्ने, आज त्यही विषयमा भ्रम फैलाउने ? यस्तो रंगीन कुराले पार्टी चल्दैन,’ उनले भने।
भेलामा सम्बोधनको क्रममा बलायर निकै आक्रोशित भए। ‘हामी शेरबहादुर देउवाको प्रेरणाले कांग्रेसमा लागेका हौँ। कसैको घमन्डले कांग्रेस चल्दैन’, बयलायरले भने।
पार्टीभित्र अनुशासनको कुरा गर्दै बलायरले प्रदेश सभापतिको निर्देशन र पार्टीको मापदण्ड नमान्नेहरूलाई पार्टीबाट निकाल्ने चेतावनी समेत दिए।