Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्धा दायर

जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत एक शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धान अनुसार शिक्षक भोजराज न्यौपानेले माध्यमिक तह गणित विषयको राहत शिक्षक पदमा नियुक्ति पाउनका लागि त्रिभुवन विश्वविद्यालयबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तह र व्यवसाय अध्ययनतर्फको स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली रूपमा पेश गरेको पाइएको छ ।

अनुसन्धानबाट ती प्रमाणपत्रहरू झुट्टा रहेको पुष्टि भएपछि उनले सोही आधारमा शिक्षकको पद, सेवा सुविधा र लाभसमेत लिएको देखिएको आयोगले जनाएको छ ।

यस आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार सजायको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले सरकारी सेवामा नक्कली शैक्षिक योग्यताको आधारमा प्रवेश गर्ने र लाभ लिने यस्ता घटनाविरुद्ध कडा कानुनी कारबाही जारी रहने स्पष्ट पारेको छ ।