रुपन्देही जिल्ला मायादेवी गाउँपालिका–४ सुन्डीका विशाल बनियाको २०८२/०१२/१५ गतेका दिन बिहानै घर उजाडियो। मृतक आफ्नो छोराको न्यायको लागि विगत ४१ दिनदेखि न्याय पाउने आशामा बनिया दम्पती भौतारिरहेको छ । तर उनीहरूले अहिलेसम्म पनि न्याय पाउन सकिरहेका छैनन्। न्यायको आशामा रहेका विशाल कहिले जिल्ला प्रहरी कार्यालय भैरहवा त कहिले इलाका प्रहरी कार्यालय बुटवलको ढोका ढक्ढकाउँछन्। तर हालसम्म पनि न्याय पाउन सकिरहेका छैनन्।
चैत्र १५ गते बिहान ९ बजे लुम्बिनी प्रहरी कार्यालयको भ्यान विशाल बनियाको घरमा पुग्छ। विशालको बुबा हरिराम बनियालाई बिबेक बनिया सडक दुर्घटनामा परेर मनिग्रामको क्रिमसन अस्पतालमा भर्ना भएको बताउँछ। नभन्दै हरिराम बनिया गाउँलेसँग आँत्तिँदै नातिको अवस्था बुझ्नका लागि क्रिमसन अस्पतालमा पुग्छन्। उक्त अस्पतालमा पुग्दा नातिको मृत शव देखेर ६० वर्षीय वृद्ध हरिराम बिछिन्न भए। उनका लागि धर्ती नै भासिएको जस्तै भयो।
घटना घट्दा ३ छोरी र श्रीमतीसँग आफू भारतमा रहेको विशालले बताए। गाउँको भाइले छोरा दुर्घटनामा परेर अस्पतालमा भर्ना भएको हुँदा तपाईं जसरी भएता पनि छिटै आउनुपर्छ भनेकाले आफू नेपाल फर्किएको विशालले जानकारी गराए। घर पुग्दा मात्र आफ्नो छोरा यो संसारमा नरहेको भनेर आफूले थाहा पाएको विशालले भने। विशाल दम्पतिको एक मात्र २१ वर्षिय छोरा बिबेक थिए। उक्त घटनाले आफ्नो संसार नै उजाडिएको ४२ वर्षिय विशालले गुनासो पोखे। आँखाबाट आँसु झार्दै उनले भने, “हामीले कसैको बिगारेका थिएनौँ, हामीमाथि किन यति ठूलो बज्रपात” इलाका प्रहरी बुटवलमा पुग्नु बनिया दम्पतिको दैनिकी नै बनेको छ तर हालसम्म पनि प्रहरीले घटनाको सत्य तथ्य बाहिर ल्याउन सकेको छैन। आफ्नो छोराको दोषीलाई प्रहरीले भेटाउन नसकेकोमा विशालले दुखेसो पोखे। किटानी जाहेरी दिन जाँदा इलाका प्रहरी बुटवलले लिन नमानेको उनको गुनासो छ।
चैत्र महिनाको १५ गते राति २ बजेर ५१ मिनेटमा मङ्गलापुर प्रहरी कार्यालयको प्रहरीले तिलोत्तमा नगरपालिका–१५ मधौलियामा UP53BR58/48 भारतीय नम्बर प्लेटको कार दुर्घटनाग्रस्त अवस्थामा फेला पार्यो। कार पल्टिँदा कारमा सवार छोराका ६ जना साथीहरू फरार हुनु, आफ्नो छोरा मात्र घाइते हुनु, टाउको, अण्डकोश लगायत विभिन्न अङ्गहरूमा चोटको निशान देखिनु, हेर्दा हत्या गरेको जस्तै देखिनु, बयान दिनेले बिबेक अन्तिम सिटमा बसेको भनेर बयान दिनु, प्रहरीले पहिलो सिटबाट गम्भीर अवस्थामा अचेत रहेको छोरालाई अस्पताल पुर्याउनु लगायत विभिन्न कुराले यो दुर्घटना भन्दा पनि हत्या भएको .ले दाबी गरे।
ठूलाठूला घटनामा सफलता हासिल गर्ने प्रहरीले ४१ दिन बितिसक्दा पनि उक्त घटनालाई टुङ्गोमा पुर्याउन नसकेकोमा विशालले दुख व्यक्त गरे। नेपालरैबार डटकमसँगको कुराकानीमा सत्य तथ्य बाहिर ल्याइदिनका लागि इलाका प्रहरी बुटवललाई विशालले आग्रह गरे। बालेन सरकारले मृत छोरालाई न्याय दिनु पर्नेमा विशालको माग छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निसान्त श्रीवास्तवले चैत्र १५ गतेको घटना सवारी दुर्घटना रहेको बताएका छन्। जाहेरी लिएर उक्त घटनालाई प्रहरीले छानबिन गरिरहेको उनले जानकारी गराए। उक्त घटना अनुसन्धानकै चरणमा रहेको हुँदा अहिले नै सबै कुरा बोल्न नमिल्ने श्रीवास्तवले भने। घटनाको नजिक आफूहरू पुगिसकेको र उक्त घटनाको सत्य तथ्य चाँडै बाहिर आउनेमा श्रीवास्तवले विश्वास व्यक्त गरे।