Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

मुख्यमन्त्रीको शपथ लिएलगत्तै विजयले जारी गरे तीन आदेश

अभिनेता सी. जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएपछि तीन आदेश जारी गरेका छन्। 

शपथ लिएकै स्थान आइतबार चेन्नईस्थित नेहरू रंगशालामा मुख्यमन्त्री विजयले तीन आदेशमा हस्ताक्षर गरेका हुन् । 

उनले प्रत्येक घरलाई २ सय युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउने, लागुऔषध तथा नशासम्बन्धी समस्या नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने तथा महिलाको सुरक्षाका लागि विशेष कार्यदल बनाउने निर्णय गरेका हुन् ।

शपथ पछिको सम्बोधनमा विजयले राज्यमा सामाजिक न्यायसहितको सरकार संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफुले गर्न नसक्ने बाचा नगर्ने स्पष्ट गर्दै जनताका दैनिकीसँग जोडिएका विषय आफ्नो पहिलो प्रथामिकता रहेको बताएका थिए ।

विजयको शपथसँगै राज्यमा झण्डै छ दशकदेखि पालैपालो सत्तामा रहँदै आएका दुई प्रमुख द्रविड दल द्रविड मुनेत्र कडगम र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कडगमको राजनीतिक वर्चस्व अन्त्य भएको छ । उनीसँगै तमिलगा वेत्री कडगमका केही वरिष्ठ नेतासहित थप नौ जनाले मन्त्री पदको शपथ लिएका छन् ।

विजयलाई मुख्यमन्त्री बनाउन ५ सिट जितेको भारतीय राष्ट्रिय काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेलेको थियो । काँग्रेस नेता राहुल गान्धी विजयको शपथ समारोहमा सहभागी भएका थिए र विजयले पनि आफ्नो सम्बोधनमा राहुल गान्धीको प्रसंशा गरेका थिए । 

साथै राज्यपालले विजयलाई मे १३ भित्र वा त्यसअघि विधानसभा बैठकमा विश्वासको मत लिन निर्देशन दिएका छन् ।