सामसुङ कम्पनि विश्वकै अग्रणी प्रविधि ब्रान्डमध्येको एक हो, उक्त कम्पनिको स्थापना सन् १९३८ मा दक्षिण कोरियामा भएको थियो। सुरुवातमा यो कम्पनी व्यापारिक सामानको कारोबार गर्ने कम्पनीका रूपमा स्थापित भएको थियो। समयसँगै यसले आफ्नो व्यवसाय विस्तार गर्दै इलेक्ट्रोनिक्स क्षेत्रमा प्रवेश गर्यो। आज सामसुङ इलेक्ट्रोनिक्स, सेमीकन्डक्टर, टेलिभिजन, घरायसी उपकरणदेखि स्मार्टफोनसम्म उत्पादन गर्ने विश्वव्यापी कम्पनी बनेको छ। यसको Galaxy Series स्मार्टफोन विश्वकै सबैभन्दा लोकप्रिय Android लाइन मानिन्छ।
नेपालमा सामसुङ स्मार्टफोनको अवस्था
नेपालमा सामसुङ स्मार्टफोनको बजार बलियो छ। Galaxy A र M Series मध्यम मूल्यका कारण नेपाली उपभोक्तामाझ लोकप्रिय छन्। यसैगरी प्रिमियम स्तरका Galaxy S र Z Series भने उच्च आय भएका उपभोक्ताको रोजाईमा परेको पाउन सकिन्छ । अन्य कम्पनिका ब्रान्डहरूले ग्राहकहरूलाई सस्तो विकल्प दिएता पनि सामसुङ को विश्वसनीयता, गुणस्तर, र सेवा सुविधाले सामसुङलाई अग्रस्थानमा राखेको छ।
सामसुङ स्मार्टफोन किन फरक?
सामसुङ ले आफ्नो स्मार्टफोनमा प्रयोगकर्ताको अनुभवलाई प्राथमिकता दिएको छ। यसको वन यूआई अपरेटिङ सिस्टम प्रयोगमैत्री छ, नियमित सुरक्षा अपडेट उपलब्ध हुन्छ, र हार्डवेयर बलियो हुन्छ। एप्पलको आइफोनसँग प्रत्यक्ष प्रतिस्पर्धा गरिरहेको उक्त फोनले विविध मूल्य दायराका उत्पादनमार्फत बजारमा आफ्नो स्थान मजबुत बनाएको छ। अन्य ब्रान्डले सस्तो विकल्प दिएता पनि वन यूआई, ग्यालेक्सी जेड फोल्ड, ग्यालेक्सी जेड फ्लिप, सुपर एमोलेड डिस्प्ले, उच्च रिफ्रेस रेट, ५० मेगापिक्सेलदेखि २०० मेगापिक्सेलसम्मको उच्च गुणस्तरिय क्यामेरा, ओआईएस, शक्तिशाली प्रोसेसर, उच्च र्याम, ठूलो स्टोरेज, टकब्याक, भोइस असिस्टेन्ट, बिक्स्बी भोइस, बिक्स्बी भिजन, हाई कन्ट्रास्ट मोड, डिस्प्ले कस्टमाइजेसन, पावर कि लगायत विभिन्न सुविधाले गर्दा सामसुङ को स्मार्टफोनलाई फरक बनाएको छ।
अधिकाम्श दृष्टिविहीनहरूको रोजाइमा किन सामसुङ फोन?
दृष्टिविहीन प्रयोगकर्तामाझ सामसुङको स्माटफोन लोकप्रिय हुनुको कारण यसको उन्नत पहुँचयोग्यता सुविधा हो। ग्यालेक्सी स्मार्टफोनमा टकब्याक र भोइस असिस्टेन्ट एकीकृत गरिएको छ, जसले गर्दा स्क्रिनमा देखिएका सामग्रीलाई आवाजमा रूपान्त्रण गर्छ। बिक्स्बी भोइस मार्फत प्रयोगकर्ताले आवाज प्रयोग गरेर फोन चलाउन सक्छन्। यसैगरि बिक्स्बी भिजनले वस्तु वा दृश्य पहिचान गरेर दृष्टिविहीनहरूलाई जानकारी दिन्छ। साथै उच्च कन्ट्रास्ट मोड र डिस्प्ले कस्टमाइजेसनले कमजोर दृष्टि भएका प्रयोगकर्ताका लागि उपयोगी हुन्छ। सामसुङले दृष्टिविहीन प्रयोगकर्तालाई अझ सहज बनाउनकालागी पावर कि ले फोन काट्न र भोलुम अफ कि ले फोन रिसिभ गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ। स्क्रिनमा निर्भर रहन नपरी बटन प्रयोग गरेर मात्र पनि फोन कल व्यवस्थापन गर्न सकिन्छ। दृष्टिविहीन प्रयोगकर्ताका लागि यो सुविधा दैनीकिलाई अझै सरल र आत्मनिर्भर बनाउने खालको छ।
यी सुविधाले दृष्टिविहीन प्रयोगकर्तालाई स्वतन्त्र रूपमा फोन प्रयोग गर्नमा मद्दत गर्छ। उनीहरू सामाजिक सञ्जालमा सक्रिय रहन, अनलाइन अध्ययन गर्न, लगायत अन्य कार्य गर्न सक्छन्। सामसुङ ले उनीहरूको जीवनमा आत्मनिर्भरता र आत्मविश्वास थपिदिएको छ।
सोना घतानी भक्तपुरस्थित एक विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिका हुन्। उनले सामसुङ फोन प्रयोग गर्न थालेको पाँच वर्ष पुगिसकेको छ। प्रोसेसरको उत्कृष्टता, उच्च गुणस्तरको ग्लास प्रयोग भएकाले डिस्प्ले मजबुत हुनु, र रिसाइकलबिन जस्ता सुविधाहरू उपलब्ध हुनुका कारण उनले सामसुङ आफ्नो रोजाइमा परेको बताइन्। एक्सेसिबिलिटी फिचर स्तरिय भएकाले आफू जस्तै अन्य दृष्टिविहिन प्रयोगकर्ताहरूलाई समेत सहज भएको उनको भनाइ छ।
हाल Samsung Galaxy M15 5G प्रयोग गरिरहेकी सोनाले पाठ्यसामग्री सजिलै वेभसाइटमार्फत प्राप्त गर्न सकिने भएकाले फोन आफ्नो साथी भएको बताइन्। सामसुङलाई “old is gold” भएको बताउने उनले सामसुङले अपडेट अझ छिटो ल्याएमा प्रयोगकर्ताहरूलाई थप सहज हुनेमा सोनाले धारणा व्यक्त गरिन्। हेभि एपहरूको कारण फोन किनेको छोटो समयमा ह्याङ् हुने, My फाइलमा एपहरू भाइरसको रूपमा बस्दा स्टोरेज ओगट्ने, प्लेस्टोरमा आवश्यक एप नपाइने ब्याट्री क्षमतामा सुधार गर्ने, फोन गर्दा आउने आवाजको गुणस्तर र स्पिकरमा सामसुङ ले सुधार गरेमा आफू जस्ता प्रयोग कर्ताहरूलाई अझ सजिलो हुनेमा घतानिको विश्वास छ।
अपांगता अधिकारकर्मी डा. बिरेन्द्रराज पोख्रेलले सामसुङ फोन दृष्टिविहीन प्रयोगकर्तामैत्री भएको बताएका छन्। क्रियाशिल नेपाल नामक संस्थाका संस्थापक रहेका पोख्रेल Abilis Foundation फिनल्यान्डका नेपाल कन्ट्री कोअर्डिनेटरको रूपमा काम गरिसकेका छन् । राष्ट्रिय अपांग महासंघ नेपालका पूर्व अध्यक्ष समेत रहेका उनी आफूले १४ वर्षदेखि सामसुङ फोन प्रयोग गर्दै आएको बताए। सामसुङ फोनमा जेस्चरको प्रयोग गर्न सजिलो हुनु, आफूहरूले मेनुहरूमा सहज पहुँच पाउनु, एप्सहरूलाई सजिलै इन्स्टल र सञ्चालन गर्न सक्नु जस्ता सुविधाहरूले दृष्टिविहीन प्रयोगकर्तालाई सामसुङ ले ठूलो सहयोग पुर्याएको छ उनले भने।
सामसुङ S22 प्रयोग गरिरहेका पोख्रेलले सन् २०१३ देखि २०१५ को अवधिमा Action on Disability Rights and Development (ADRAD) मार्फत करिब ६०० जना दृष्टिविहीनलाई सामसुङ कम्पनीकै अन्प्रो 7 मोडेलको मोबाइल सेट उपलब्ध गराइएको बताए। सामसुङ ले आफ्ना फोनहरूमा सिक्वेन्सियल किबोर्ड कमान्डहरूलाई प्रभावकारी बनाएमा दृष्टिविहीन प्रयोगकर्तालाई अझ सहज हुनेमा पोख्रेलले विश्वास व्यक्त गरे। जेस्चरलाई अझ स्तरिय बनाउन सकेमा सामसुङ फोन दृष्टिविहीन समुदायका लागि अझ उत्कृष्ट रोजाइ बन्न सक्ने पोख्रेलको भनाई छ।
काठमाडौँ किर्तिपुर चोभारकी अस्मिता सैँजुले एक वर्षदेखि सामसुङको फोन प्रयोग गर्दै आएकी छन्। दृष्टिविहिन अस्मिताले उक्त फोन आफ्नो रोजाइमा पर्नुको कारणभने सामसुङ फोनको एक्सेसिबिलिटी सुविधा नै भएको बताइन्। गोल्डेन गेट इन्टरनेशनल क्याम्पसमा स्नातक चौथो तहमा अध्ययनरत अस्मिताले फोन दृष्टिविहिनमैत्री भएकाले आफूलाई अनलाइन क्लास लिन, सामाजिक सञ्जाल चलाउन र फोन गर्न सजिलो भएको बताइन्। सामसुङ स्मार्ट फोनको पावर कि र भोल्युम कि फिचर पनि आफूलाई मन परेको अस्मिताको भनाई छ। पावर कि को साहयताले फोन काट्न सकिने, र भोल्युम कि को प्रयोगले फोन रिसिभ गर्न सकिने भएकाले हामी जस्तै दृष्टिविहिनहरूलाई सामसुङले सजिलो बनाएको छ, अस्मिताले भनिन्।
रोलपाका शिक्षक शिशिर डाँगी दुई वर्षदेखि सामसुङ को फोन प्रयोग गर्दै आएका छन्। उक्त फोन बलियो भएकाले आफ्नो रोजाइमा परेको सिसिरले बताए । फोनको ब्याट्री र डिस्प्ले उत्कृष्ट भएकाले प्रयोग गर्दा सहज भएको अनुभव दाँगिको छ। एक्सेसिबिलिटीको सुविधाले दैनिक प्रयोगमा थप सहज भएको उनले भने। सामसुङ फोनमा रहेको टिटिएस भ्वाइस अपडेट भएमा प्रयोगकर्ताहरूलाई अझ सहज हुने र उक्त सुधारले दृष्टिविहिन प्रयोगकर्ताहरूको संख्या पनि बढेर जानेमा दाँगिले विश्वास व्यक्त गरे।
किर्तिपुरका मदन रोकायले फोन आफ्नो साथी भएको बताएका छन्। युवा अधिकारकर्मी समेत रहेका उनले सामसुङ फोनले आफूलाई प्रविधिको सुविधा मात्र नदिएको बताए । सामसुङ को फोन आफ्नो लागी आत्मविश्वास भरोसाको आधार समेत भएको रोकायले भने । उक्त फोनको क्यामेरा आफूलाई मन पर्ने सुविधा मध्येको एक रहेको मदनको भनाई छ। स्क्रिन रिडर सुविधा, भ्वाइस असिस्टेन्ट, र सजिलो नेभिगेसन प्रणालीले आफूहरूलाई अध्यन, सञ्चार, र दैनिक क्रियाकलापमा सहजता पुर्याएको उनले बताए । सामसुङको टिटिएसले आफू जस्तै अन्य दृष्टिविहीनलाई विश्वसङ्ग जोडिदिएको मदनले दाबी गरे।
सामसुङ स्मार्ट फोनमा सुधारको आवश्यकता रहेको रोकायको बुझाई छ । दिनभरि फिल्डमा हिँड्दा ब्याट्री छिटो सकिने समस्या, चार्ज गर्न ढिलो हुने अवस्था, प्रिमियम फिचर भएका फोन महँगो हुनु, र धेरै काम गर्दा फोन तात्ने समस्या रहेको रोकायले बताए। यी पक्षमा सामसुङले सुधार गरेमा आफू जस्ता युवाहरूलाई ठूलो राहत हुने उनको भनाइ छ।