Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

युएईविरुद्ध दिपेन्द्र सिंह ऐरीको शानदार शतक

दिपेन्द्र सिंह ऐरीले युएईविरुद्ध शतक प्रहार गरेका छन् । दिपेन्द्रले ९४ बल खेल्दै शतक पुरा गरेका हुन् । 

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २८९ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०० रन जोडे। एकदिवसीय खेलमा दोस्रो शतक प्रहार गरेका दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गरे। उनी अन्तिम बलमा रनआउट भएका थिए। 

दीपेन्द्र र गुल्सन झाबीच छैटौं विकेटका लागि १०२ रनको साझेदारी भयो। गुल्सनले ३८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए। 

त्यसअघि ओपनिङमा आएका विनोद भण्डारीले ७९ बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए। 

ओपनिङमा मौका पाएका डेब्यू खेलाडी अर्जुन कुमालले  ११ रन जोडे भने भीम सार्की शून्यमा पेभिलियन फर्किए। 

कप्तान रोहितकुमार पौडेलले ४८ बलमा ३९ रन र आरिफ शेखले १६ बलमा ११ रन जोडे। 

बलिङमा युएईका जुनइद सिद्धिकी र अजय कुमारले २-२ विकेट लिए।