Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

आइपिएलको क्रममा ड्रेसिङ रुममा भेप प्रयोग गरेका राजस्थानका कप्तान परागमाथि कारवाही

इन्डियन प्रिमियर लिग (आइपिएल) टिम राजस्थान रोयल्सका कप्तान रियान परागलाई खेलका क्रममा ड्रेसिङ रुमभित्र भेप प्रयोग गरेको आरोपमा कारबाही गरिएको छ ।

गएराती सम्पन्न पञ्जाव किंगविरुद्धको खेलमा परागले खेलको क्रममा ड्रेसिङ रुममा भेप प्रयोग गरेको देखिएको थियो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्डका अनुसार राजस्थान रोयल्सका कप्तान पारागलाई खेल शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ भने एक डिमेरिट अंक पनि दिइएको छ । उनीमाथि खेलको प्रतिष्ठामा आँच आउने व्यवहार गरेको आरोप लागेको हो ।

सो खेलमा पञ्जाब किङ्सले दिएको २२२ रनको लक्ष्य राजस्थानले ४ बल बाँकी रहँदै पूरा गरेको थियो । सोही खेलका क्रममा ड्रेसिङ रुमभित्र भेप प्रयोग गरेको पाइएपछि पारागमाथि कारबाही गरिएको हो। उनले आफ्नो गल्ती स्वीकार गर्दै म्याच रेफ्री अमित शर्माले तोकेको सजाय मानेका छन् ।

बोर्डले यस घटनालाई गम्भीर रूपमा लिँदै सम्बन्धित टोली, पदाधिकारी तथा खेलाडीमाथि थप कडा कारबाही गर्ने विषयमा समेत अध्ययन भइरहेको जनाएको छ ।

यसअघि पनि राजस्थान रोयल्सका टोली व्यवस्थापक रोमी भिन्दरलाई खेलका क्रममा डगआउटमा मोबाइल प्रयोग गरेको कारण एक लाख भारतीय रुपैयाँ जरिवाना गरिएको थियो । उनले गल्ती स्वीकार गर्दै माफी मागेका थिए र भविष्यमा यस्तो नगर्न चेतावनी दिइएको थियो ।