Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका २६ वर्षीय विमल तामाङ, सोही ठाउँकै २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । 

उहाँले गत चैत १२ गते, १९ गते र वैशाख ६ गते विभिन्न ठाउँमा पुगेर सुन लुटपाटसम्बन्धी घटनाको अनुसन्धानका आधारमा निजहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार प्रहरीले पक्राउ परेकासँग १२ दशमलव ९० ग्राम सुन, पेचकस एक थान, ठूलो रेन्ची एक थान, सानो रेन्ची आठ थान, मोबाइल एक थान, खुकुरी एक थान, हुडी, ट्राउजर, ज्याकेटलगायत सामग्री बरामद गरेको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ४ पैँयुटारबाट पक्राउ परेको उक्त गिरोहलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।