Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सबैलाई एकसाथ महाधिवेशनसम्म लैजान्छौं : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हार जीत नभै बाटो तय गर्ने स्थिति बनाएको बताएका छन् ।

बाग्मती प्रदेशको निर्वाचन समीक्षाका क्रममा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै पक्षलाई सँगै हिंडाएर अधिवेशनसम्म लैजाने बताए । ‘हारजित हैन बाटो तय गर्ने स्थिती अदालतले बनाइदिएको छ,’ उनले भने,‘सबैलाई सँग सँगै एउटै बाटो हिंडाएर अधिवेशनसम्म लैजान्छौं ।’

अहिले सदस्यता अद्यावधिक चलिरहेको भन्दै उनले यसमा छनोटको सुविधा नभएको बताए । यसका लागि इमान्दारितापूर्वक काम गर्न उनले वडा सभापतिहरुसँग आग्रह गरे । ‘कसैले सदस्यता माग्यो भने इफ वा बट नभी दिनुहोला,’ उनले भने,‘छुटेकालाई नवीकरण गर्न लगाऔं ।’

क्रियाशिल सदस्य धेरै भए पनि देशका १७ निर्वाचन क्षेत्रमा क्रियाशिल बराबर वा त्योभन्दा कम भोट आएको स्मरण गर्दै महामन्त्री पौडेलले पहिले अन्त भोट हालेको व्यक्ति पार्टीमा आउन चाहँदा वातावरण तयार पार्न आग्रह गरे । आगामी वर्ष स्थानीय तहको निर्वाचन हुने भन्दै उनले डिजिटल प्रविधिबाट सदस्यता नवीकरणले नै जित्ने आधार तयार पार्ने दावी गरे ।

‘विभिन्न जिम्मेवारीमा रहेका हामी सबैले मेरो जिम्मेवारी पूरा गर्नुपर्छ भनेर नलाग्ने हो भने हामीले स्थानीय चुनाव जित्न सक्दैनौं,’ उनले भने । नागरिकसँग कसरी जोडिने भनेर संगठनले योजना तय गरेको बताएका महामन्त्री पौडेलले आफू जोडिएको संगठन गतिशिल बनाएर अघि बढिदिन आग्रह गरे ।

‘संगठित संरचनाले अघि बढाउन सहयोग गरे छिटो र सजिलोसँग पार्टीलाई रुपान्तरण गर्न सकिनेछ,’ उनले भने,‘ तर यो जिम्मेवारी होइन भनेर हुँदैन ।’