Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

परनिर्भरता हटाउँदै इ-सेवाले दृष्टिविहीनलाई आत्मनिर्भर बनाउँदै

दृष्टिविहीन भएका व्यक्तिहरूको डिजिटल वालेटहरूमा अझै पनि पूर्णरूपले अझैपनि पहुँच हुन सकेको छैन। नेपालकै पहिलो डिजिटल वालेट इसेवाले हालै आफ्नो एपलाई दृष्टिविहीनमैत्री बनाएको छ। स्क्रीन रिडर वा टकब्याक प्रयोग गरेर एपका मेनू र विकल्पहरूलाई आवाजमा रूपान्तरण गर्ने सुविधा उपलब्ध गराइएको हो। जसले गर्दा प्रयोगकर्तालाई अरूको सहयोग बिना नै स्वतन्त्र रूपमा डिजिटल भुक्तानी प्रणालीलाई प्रयोग गर्नमा सक्षम बनाउने छ।

२००९ मा बीटा संस्करणमार्फत सुरु भइ २०१० मा इसेवाले आफ्नो सेवालाई औपचारिक रूपमा विस्तार गर्‍यो। १७ वर्षको यात्रा पूरा गरिसकेको यस कम्पनीले १५ मिलियनभन्दा बढी डाउनलोड हासिल गरिसकेको छ। यस अवधिमा इसेवाले मोबाइल टप-अप, युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स, बीमा, टिकटिङ्, होटल तथा फ्लाइट बुकिङ, लगानी, ऋण सुविधा लगायत दैनिक जीवनसँग सम्बन्धित वित्तीय सेवाहरूलाई एकै प्लेटफर्ममा उपलब्ध गराइरहेको छ। तर यसको पछिल्लो उपलब्धि भनेको दृष्टिविहीन प्रयोगकर्ताका लागि दृष्टिविहीन मैत्री सुविधा हो, जसले डिजिटल भुक्तानी प्रणालीमा समान अवसर प्रदान गरेको छ।

पहिले इसेवाको एपमा कीहरू आवाजमा रूपान्तरण नहुने, यदी आवाजमा रूपान्तरण भएता पनि अस्पष्ट सूचना दिने समस्या थियो, जसले गर्दा दृष्टिविहीन प्रयोगकर्तालाई अरूको सहयोग लिन बाध्य बनाउँथ्यो। तर हालको अपडेटपछि यो समस्या समाधान भइसकेको छ। अब प्रयोगकर्ताले टकब्याक, वा स्क्रीन रिडर सक्रिय गरेर मेनू, बटन वा विकल्पहरूलाई आवाजमार्फत बुझ्न सक्छन्। यसले उनीहरूलाई स्वतन्त्र रूपमा मोबाइल भुक्तानी, बिल तिर्न वा रेमिट्यान्स पठाउनका लागी सुविधा र सहज भएको छ।

इसेवाको अपडेटसङ्गै दृष्टिविहीन व्यक्तिहरूलाई सहजता

किर्तिपुर चोभारकी सरिता बनिया श्रवण द्रिष्टिविहिन हुन्। दृष्टिविहीन हुनु र कानमा समेत समस्या आउनुले बैङ्कहरूले मोबाइल बैङ्किङ दिनका लागी अस्विकार गरेको उनले गुनासो पोखिन्। हालै मात्र कक्लियर इम्प्लान्ट सर्जरी गरेकी सरिताले इसेवाको एप आफूलाई सजिलो लागेको बताइन्। झण्डै दुई महिनादेखि इसेवा प्रयोग गरिरहेकी उनले इसेवाको एप दृष्टिविहीनमैत्रि हुँदा आफूजस्ता अन्य दृष्टिविहीन साथीहरूलाई पनि अझ सजिलो भएको बताइन। ब्यालेन्स ट्रान्सफर, पैसा पठाउन बैङ्कमा जान नपर्दा इसेवाले परनिर्भरता घटाएको सरिताले बताइन।

roshani adhikari.jpeg

रुपन्देही बुटवलका सन्तोष न्यौपानेले बेलाबेलामा आफू जस्तै दृष्टिविहीन साथीहरूलाई कम्प्युटर तालिम दिरहन्छन्। विगत चार वर्षदेखि इसेवा प्रयोग गरिरहेका उनले केवाईसी भेरिफाइ गर्न गाह्रो हुँदा सुरुमा डेमोको लागी इसेवा प्रयोग गरेको बताए। प्रयोग गर्दै जाँदा इसेवाले आफ्नो सेवाहरू पनि अपडेट गर्दै लगेकोले गर्दा आफूलाई उक्त एप मन परेको बताउँछन्। हाल इसेवाको एप र वेभ दृष्टिविहीनमैत्री हुँदा आफूलाई काम गर्नका लागी अझ सहज भएको सन्तोषको अनुभव छ। इसेवाले आफ्नो ट्यागलाइनमा भने जस्तै “सबै,सधैँ, सँगै'' लाई जोड दिएको उनी भन्छन। पहुँच गाइडलाईनलाई इसेवाले फलो गरेमा आफूहरूलाई अझ सजिलो हुने र उक्त समस्या जरैबाट समधान हुनेमा न्यौपानेको विश्वास छ।

यसैगरी पोखराका हरि केसीले इसेवाको एप दृष्टिविहीनमैत्री भएता पनि इसेवाले धेरै कुरा सुधार गर्नुपर्ने बताउछन्। पोखरास्थित थेरापी सेन्टरमा कार्यरत उनी नयाँ खाता खोल्नु नै आफूहरूका लागी चुनौती भएको बताए। नयाँ खाता खोल्दा लाईभ फोटो एपले माग गर्नु र लाईभ फोटो आफूहरूले खिच्न नसक्नुले गर्दा थप चुनौती भएको उनको अनुभव छ। केवाईसी प्रमाणिकरणमा पनि समस्या भएको हुँदा दिर्घकालका लागी उक्त समस्याको समधान कम्पनीले निकाल्नु पर्नेमा हरिको धारणा छ।

केवाईसी प्रमाणिकरणका लागि आफूहरू इसेवाको अफिसमा जाँदा भने उक्त अफिसले आफूहरूलाई सहयोग गरेको हरिले बताएँ। अफिसमा जान नसक्ने अवस्थामा भने आफैले केवाईसी प्रमाणिकरण गर्न पाएमा अझ सजिलो हुने केसीको बुझाइ छ। त्यसैगरी पिनकोड फर्गेट गर्दा पनि आफूहरूलाई अन्य व्यक्तिहरूको साहारा लिन परिरहेको हरिले बताए। फर्गेट गरिएको पिनकोडको समय लिमिट हुनु र प्रत्येक कोडलाई छुट्टाछुट्टै सेलमा राख्नुपर्ने हुँदा यसले गर्दा आफूहरूलाई समस्या भइरहेको हरिले भने। एन्ड्रोइड फोनबाट फ्लाइट टिकट बुकिङ्, बस टिकट बुकिङ, गर्दा सिटहरू खालि भएको देखाएता पनि ओपन गर्दा टकब्याकले कुन सीट खालि हो भनेर जानकारी नदिनेले गर्दा इसेवाको सबै फिचरहरू चलाउन आफूहरूलाई गाह्रो भएको हरिको भनाइ छ।

नेपाल टेलिकममा कार्यरत गौतम पोख्रेलले इसेवा वेभ र आइफोनमा हाल राम्रोसङ्ग काम गरिरहेको बताए। बढी मात्रामा इसेवाको प्रयोग वेभमा मात्र गरिरहेका उनले अहिले भने इसेवा आइफोनमा पनि राम्रोसँग काम गरिरहेको गौतमको अनुभव छ। इसेवाले ओटीपी कोड पठाउँदा पहिला कोड र त्यसपछी डिस्क्रेप्सन दिदाँ आफूहरूलाई सजिलो हुन्थ्यो उनले भने। नेपाल टेलिकममा शाखा अधिकृतको रूपमा कार्यरत गौतमले ओटीपी कोडको टाइम लिमिट हुनु र अगाडि डिस्क्रेप्सन पछाडि मात्र कोड हुनुले गर्दा आफूहरूलाई ओटीपी कोडको प्रयोग गर्न गाह्रो भएको बताए। यसो गर्दा आँखा देख्ने व्यक्तिहरूको साहारा बिना नै काम गर्न सकिनेमा उनले जोड दिए।

jiwan baniyta.jpeg

काठमाडौस्थित बालाजुकी रोशनी अधिकारीले वित्तिय कारोबार गर्नका लागी आफूहरूलाई इसेवाले सजिलो बनाएको बताइन्। टपअपबाट रिचार्ज गर्न, बैङ्कमा पैसा पठाउन, बिजुलीको बिल तिर्न लगायतका कामहरूका लागी इसेवाले सजिलो बनाएको अधिकारीको अनुभव छ। ललितपुरस्थित कुपण्डोलको एक ल फममा कार्यरत उनी आइफोन प्रयोग कर्ताहरूका लागी इसेवा अझ पहुँचयोग्य हुनुपर्ने बताउँछन्। दृष्टिविहीन प्रयोग कर्ताहरूले आइफोनबाट इसेवाको प्रयोग गर्दा कतिपय अवस्थाहरूमा ब्याक आउन नमिल्ने र ब्याक आउनका लागी इसेवाको एप्लिकेसन नै अफ गर्नुपर्ने भएकाले आइफोनमा इसेवाले आफ्नो एप अझ एक्सेसिवल बनाउनु पर्नेमा उनले जोड दिइन्।

केही महिना अघि मात्र आफ्नो एप अपडेट गरेको इसेवाले आफ्ना सबै सेवाहरू दृष्टिविहीनमैत्री बनाउनका लागी आफूहरू लागिरहेको बताएको छ। आफूहरूले प्रदान गर्ने प्राय सुविधाहरू दृष्टिविहीनमैत्री भइसकेको र केही सुविधाहरूलाई अनुसन्धान गरी थप सुधार गर्न बाँकी रहेको इसेवाले बताएको हो। दृष्टिविहीन प्रयोगकर्ताहरूले सामना गर्ने हरेक समस्याबारे कम्पनी जानकार रहेको र थप सहजता ल्याउनका लागी टीमले काम गरिरहेको इसेवाले स्पष्ट पारेको छ। केवाईसी प्रक्रियालाई कसरी दृष्टिविहीनमैत्री बनाउन सकिन्छ भन्ने विषयमा टीमले गृहकार्य गरिरहेको इसेवाले बताएको हो। साथै सम्पूर्ण फिचरलाई पूर्ण रूपमा पहुँच योग्य बनाउनका लागी अनुसन्धान परिक्षणमा टीम जुटिरहेको इसेवाले जानकारी दिएको छ।