Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै खड्कालाई रिहा गर्न आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका खड्का प्रहरी हिरासतमा थिए । तर, उनको थुना कानुनसम्मत नभएको ठहर सर्वोच्चले गरेको छ ।

यद्यपि अदालतले खड्कालाई विदेश जानुअघि अदालतको अनुमति अनिवार्य लिनुपर्ने शर्त राखेको छ । साथै, सर्वोच्चले यसअघि स्थापित नजिर उल्लेख गर्दै खड्काविरुद्ध लागेको अभियोग मिलापत्रयोग्य हुनसक्ने पनि आदेशमा जनाएको छ ।

यसअघि सर्वोच्चले बुधबार (वैशाख २) ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि तयार गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोध पत्र तथा थुनाको कारणसहितको लिखित जवाफ बिहीबार दिउँसो १२ बजेसम्म पेश गर्न आदेश दिएको थियो ।

खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले चैत १५ गते पक्राउ गरेको थियो ।