Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क निर्धारण: भित्रिँदा र बाहिरिँदा फरक-फरक दस्तुर

सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि उपभोग दस्तुर (टोल शुल्क) निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सवारी साधनको वर्गीकरण अनुसार शुल्क तोकेको हो ।

सरकारले मन्त्रिपरिषद्को निर्णय अनुसार सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) बमोजिम उक्त शुल्क लागू गरेको जनाएको छ । यसअनुसार काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनको तुलनामा उपत्यका भित्रिने सवारी साधनलाई केही बढी शुल्क तोकिएको छ ।

गएको साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बिहीबार राजपत्रमा दररेट प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ । नयाँ दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका गाडीले काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै मिनी बस, मिनी टिपर र मिनी ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ । ठूला गाडीहरू बस/ट्रकका लागि लागि काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ ।

अत्यधिक भारवहनवाला गाडीका हकमा भने ६०० रुपैयाँ प्रवेश शुल्क र २५० रुपैयाँ बाहिरिने शुल्क निर्धारण गरिएको राजपत्रमा उल्लेख छ ।