गृहमन्त्री सुधन गुरूङ काभ्रेको रोशी खोला क्षेत्र जाँदैछन्। उनी मंगलबार मन्त्रिपरिषद् बैठक सकेर काभ्रेको पनौती नगरपालिकाभित्र पर्ने रोशी क्षेत्र जान लागेका हुन्।
२०८१ असोज १० देखि १२ गतेसम्मको भेलबाढीले रोशी खोला क्षेत्र तहसनहस पारेको थियो। मापदण्डविपरीतका ढुंगा खानी, क्रसर उद्योगका कारण त्यस क्षेत्र प्रभावित बनेको गुनासो आएपछि उनी त्यस क्षेत्र जान लागेका हुन्।
‘गृहमन्त्री सुधन गुरूङ आज आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने कार्यक्रम रहेको छ। वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उहाँले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लाग्नुभएको हो,’ गृहमन्त्रीको सचिलवालयले जानकारी दिएको छ।
उक्त निरीक्षणपछि गृहमन्त्रीले त्यहाँको पूर्वाधार संरक्षण र दीर्घकालीन सुरक्षाका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी तथा समन्वयका लागि निर्देशन दिने पनि सचिवालयले जनाएको छ ।