पोखराको फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरूङले आफूलाई झुक्याइएको बताएका छन्। सामाजिक सञ्जालभरि जग्गा प्रकरणमा चर्को आलोचना भएपछि गृहमन्त्री गुरूङले आफ्नो सचिवालयमार्फत यस्तो भनाइ सार्वजनिक गरेका हुन् ।
पोखराको फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ आजभन्दा करिब ८/१० वर्ष अगाडि मन्त्री गुरुङसहित तीन जना युवा उद्यमीहरू मिलेर 'एड्भेन्चर स्पोर्ट्स नेपाल' सञ्चालन गर्ने योजना अघि बढाएको उनको सचिवालयले पुष्टि गरेको छ।
'देशमै केही गरौँ भन्ने हुटहुटी र ऊर्जा बोकेका हामीले ठूलो लगानी र सपनाका साथ काम सुरु गरेका थियौँ। जग्गा भाडामा लिनुपूर्व हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए। लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको देखाएका थिए, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ, 'मन्त्री गुरुङको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ ।
जग्गा लिजमा लिँदा घरधनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाएर ठगी गरेको र कानुनी कारबाहीमा जान लागिएको गृहमन्त्री गुरूङले बताएका छन्।
मन्त्री गुरुङले यो ठगीविरुद्ध कानुनी उपचार खोज्ने तयारी गरेका छन् । 'हामीलाई पर्न गएको यो अन्याय र ठगी विरुद्ध, कडाभन्दा कडा कानुनी उपचारका लागि हामी अब कानुनी प्रक्रियामा कत्ति पनि विचलित नभई अगाडि बढ्ने व्यहोरा सबैमा अवगत गराउन चाहन्छु, 'मन्त्री गुरुङले भनेका छन् ।