प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रुपमा सांसदहरूसँग छलफल गरिरहेका छन् । आज सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका हुन् । सोमबार पनि कोशी र कर्णालीका सांसदसँग छलफल गरेका थिए ।
छलफलमा सुदूरपश्चिम प्रदेशका अत्यावश्यक विकास योजना तथा परियोजनाहरूलाई चालु आर्थिक वर्षमै समेट्ने विषयमा सरकार र सांसदहरूबीच सहमति भएको छ। बैठकमा सहभागी एक सांसदका अनुसार प्राथमिकतामा परेका योजनाहरू कार्यान्वयनका लागि सरकारले बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
छलफलका क्रममा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा विश्वविद्यालय) लाई यसै आर्थिक वर्षभित्र बजेट विनियोजन गर्ने विषयमा एकरूपता देखिएको उनले बताए। प्रधानमन्त्रीले उक्त परियोजनालाई तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको पनि सांसदले जानकारी दिए।
बैठकमा कैलाली र कञ्चनपुरमा देखिएको छाडा चौपाया व्यवस्थापन समस्या समाधानका लागि आवश्यक कदम चाल्नुपर्नेमा पनि सहमति भएको छ। त्यसैगरी, कमैया शिविरमा बसोबास गर्ने नागरिकहरूको जीवनस्तर सुधार गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने विषय उठाइएको थियो।
पूर्वाधारतर्फ धनगढी–खुटिया–दीपायल फास्ट ट्र्याक लगायत सडक, पुल, सिँचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रका योजनाहरूलाई प्राथमिकतामा राख्नुपर्ने माग बैठकमा गरिएको थियो।
सांसदका अनुसार बैठकमा सहभागीहरूले आ–आफ्नो क्षेत्रका समस्या राख्दै सुदूरपश्चिमको समग्र विकासका लागि केन्द्र र प्रदेशबीच समन्वय आवश्यक रहेको बताएका छन्। साथै, सरकारी कर्मचारीहरूको भूमिकाबारे पनि छलफल गर्दै सबै कर्मचारीलाई एउटै दृष्टिकोणबाट मूल्यांकन गर्न नहुने धारणा व्यक्त गरिएको थियो।
बैठकमा सुदूरपश्चिमका दीर्घकालीन समस्या समाधानका लागि तत्काल कार्यान्वयन योग्य योजनाहरू अघि बढाउने सहमति भएको छ।