एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘जेनजी आन्दोलन’ प्रकरणमा पक्राउ परेपछि चार दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्। ओलीको स्वास्थ्य अवस्था अझै स्थिर रहे पनि मुटुको चालमा देखिएको समस्या सुधार हुन नसकेको चिकित्सकहरूले बताएका छन्।
प्रहरी नियन्त्रणमा लिएलगत्तै अस्पताल लगिएका ओलीको प्रारम्भिक परीक्षणमा मुटुको चाल अनियमित देखिएपछि चिकित्सकहरूले आइतबार ‘हल्टर मोनिटर’ जडान गरेर ४८ घण्टा निगरानी गरेका थिए। अस्पतालका सूचना अधिकारीका अनुसार हालै हटाइएको हल्टर मोनिटरको रिपोर्टमा पनि मुटुको चालमा गडबडी कायम रहेको देखिएको छ। दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीमा उमेर, मधुमेह, थाइराइड र पेटसम्बन्धी समस्या समेत रहेकाले स्वास्थ्य अवस्था संवेदनशील मानिएको छ।
उपचार प्रभावकारी बनाउन अस्पतालले कार्डियोलोजी, नेफ्रोलोजी, मेडिसिन, जनरल सर्जरी र प्रयोगशाला विभागका विशेषज्ञ सम्मिलित अन्तरविभागीय चिकित्सक टोली गठन गरेको छ। उक्त टोलीले आवश्यक परीक्षण, परामर्श र उपचार निरन्तर गरिरहेको जनाइएको छ।
यसैबीच, पिसाबसम्बन्धी समस्या देखिएपछि कल्चर परीक्षण सुरु गरिएको छ। आगामी रिपोर्टका आधारमा पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्ने वा नगर्ने विषयमा निर्णय गरिने अस्पतालले जनाएको छ। चिकित्सकहरूले हाल ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको तर थप निगरानी आवश्यक रहेको बताएका छन्।