पूर्वमन्त्री दीपक खड्का स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
विभागका एक जना अधिकृतका अनुसार विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । तर, निरन्तर बान्ता भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।
अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अनुसन्धानमा संलग्न विभागका एक जना अधिकृतले बताए ।
यस्तै हृदयको धडकन असामान्य भएको समस्याका कारण हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि चिकित्सकको निगरानीमा छन् ।