Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

पाल्पामा टिपर दुर्घटना: चालकसहित चार जनाको ज्यान गयो

पाल्पाको माथागढी गाउँपालिका–७ रहबासमा शनिबार साँझ भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चालक चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक, रुपन्देही देबदह नगरपालिका–२ खैरेनीका सुनिल नेपाली तथा तानसेन नगरपालिका–१० पटुवाका राजन चिदीको मृत्यु भएको हो।

प्रहरीका अनुसार झडेवाबाट रहबासस्थित चुनढुङ्गाखानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्गम तथा साँघुरा सडकका कारण यस्ता दुर्घटना दोहोरिने गरेको स्थानीयले बताएका छन्। प्रहरीले सवारीसाधन सञ्चालनमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।