Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

इरानको निशानामा अमेरिकी एफ–३५ लडाकु विमान, सुरक्षित रहेको अमेरिकाको दाबी

पश्चिम एसियामा जारी तनावबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले इरानको आकाशमा अमेरिकी एफ–३५ स्टेल्थ लडाकु विमानलाई निशाना बनाएको दाबी गरेको छ । इरानले सो विमान दुर्घटनामा परेको सम्भावना उच्च रहेको जनाएको छ ।

यता अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार इरानी क्षेप्यास्त्र आक्रमणपछि एउटा एफ-३५ विमानले आकस्मिक अवतरण गर्नुपरेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विमान इरानमाथि एक अभियानमा रहेको पुष्टि गर्दै सुरक्षित अवतरण भएको र चालकको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

एफ-३५ विश्वकै महँगा लडाकु विमानमध्ये एक मानिन्छ, जसको मूल्य १० करोड अमेरिकी डलरभन्दा बढी पर्छ । इरानको दाबी पूर्ण रूपमा सही ठहरिएमा यो द्वन्द्वको ठूलो सैन्य उपलब्धि हुने मानिएको छ । इरानले यसअघि अमेरिका र इजरायलका १२५ भन्दा बढी ड्रोन खसालेको पनि दाबी गरेको छ ।

यसैबीच युद्धका क्रममा अमेरिकी सेनाले अन्य क्षति पनि व्यहोरेको बताइएको छ । रिपोर्टअनुसार कुवेतको हवाई रक्षा प्रणालीले गल्तीवश अमेरिकाका तीन एफ-१५ इगल विमान खसालेको जनाइएको छ । ती विमानमा रहेका सबै छ चालक सदस्य भने सुरक्षित रहेको बताइएको छ ।

त्यसैगरी गत साता इराकमा अमेरिकाको केसी-१३५ स्ट्र्याटोट्यांकर विमान दुर्घटनामा परेको थियो, जसमा सवार सबै छ जनाको मृत्यु भएको थियो । अमेरिकी सेनाले उक्त दुर्घटना शत्रुको आक्रमणका कारण नभएको स्पष्ट पारेको छ ।

यी घटनाबीच पनि अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिका निर्णायक रूपमा अघि बढिरहेको दाबी गरेका छन् । उनले इरानको हवाई रक्षा प्रणाली लगभग ध्वस्त भइसकेको बताएका छन् । यसै क्रममा अमेरिकाले क्षेत्रमा आफ्नो उपस्थिती बलियो बनाउन ओकिनावाबाट मरीन बल र त्रिपोली समूह तैनाथ गर्ने निर्णय गरेको जनाइएको छ । अमेरिकी युद्धपोत युएसएस त्रिपोली हालै सिंगापुर नजिक देखिएको पनि रिपोर्टमा उल्लेख छ ।