राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग संशोधन निर्णयविरूद्ध दायर रिटमाथिको सुनुवाइ सकिएको छ ।
सुनुवाई न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा सकिएको हो । बिहीबार (चैत ५) निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिने त्रिपाठी र टीकाराम भट्टराईले जवाफ दिएपछि सुनुवाइ सकिएको हो । मंगलबार भने उक्त सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालको मुद्दा संशोधन निर्णयविरूद्ध सर्वोच्चमा भिन्नाभिन्नै तीनवटा रिट दायर भएका थिए । महान्यायाधिवक्ता भण्डारीबाट लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको हो ।
लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी कसूर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोग फिर्ता लिइदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन फिर्ता गर्ने निर्णय लिएकी थिइन्। उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको थियो।