Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार राहत उपलब्ध गराइने

भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । 

उनका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार रु २० हजारका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो । “प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग पु‍र्याउनु हाम्रो दायित्व हो”, अध्यक्ष राईले भने, “क्षतिको विवरण सङ्कलनसँगै राहत वितरणलाई तीव्रता दिइएको छ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको बताए । ती सबै परिवारलाई राहत उपलब्ध गराइने उनले जानकारी दिए । 

हावाहुरीका कारण कच्ची तथा टिनका छाना भएका घरहरू बढी प्रभावित भएका छन् ।