Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

इराकमा ड्रोन हमला हुँदा दुई नेपाली घाइते

इराकको अर्विलस्थित संयुक्त अरब इमिरेट्स (यूएई) को महावाणिज्य दूतावासलाई लक्षित गरी गरिएको ड्रोन हमलामा दुई नेपाली सुरक्षागार्ड घाइते भएका छन्। महावाणिज्य दूतावासमा कार्यरत १३ जना नेपाली सुरक्षागार्ड र दुई नेपाली महिला कर्मचारीसहित १५ जना रहेकोमा हमलापछि सबैलाई सुरक्षित स्थानमा सारिएको छ।

यता अर्विल अन्तर्राष्ट्रिय विमानस्थल आसपास पनि लगातार ड्रोन आक्रमण भएपछि त्यहाँ नजिकै रहेको अमेरिकी बेस क्याम्पमा कार्यरत १२० नेपालीलाई सुरक्षा सावधानीका लागि होटलमा सारिएको छ। उनीहरू विभिन्न कम्पनीमार्फत विमानस्थल क्षेत्रमा कार्यरत थिए।

‘विमानस्थलभित्र थियौं । केही उडानहरू रद्द भइरहेका थिए । विमानस्थलको आकाशमा एक्कासि ड्रोनहरूले फन्को लगाउन थाले,’ अर्विल विमानस्थलमा कार्यरत एक नेपालीले भने, ‘तर, हमला सुरु भएपछि टर्मिनलभित्र भागाभाग भयो ।’

अर्विलमा रहेका केही नेपाली श्रमिक परिस्थिति सामान्य भएपछि काममा फर्किने तयारीमा छन् भने केही स्वदेश फर्किने योजनामा छन्। अमेरिकी बेस क्याम्पमा कार्यरत डेढ सयभन्दा बढी नेपाली भने यसअघि नै नेपाल फर्किसकेको जानकारी गैरआवासीय नेपाली संघ इराकले दिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार इराकमा करिब ३० हजार नेपाली कार्यरत छन्।