Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा तय गर्न दुई दिने केन्द्रीय समीक्षा बैठक सम्पन्न गरेको छ।

पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य, उम्मेदवार तथा प्रदेश र जिल्ला संयोजकहरूको सहभागिता रहेको थियो ।

बैठकमा सीमित समय, न्यून स्रोतसाधन र प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पनि पार्टीले देशभर सम्मानजनक मत प्राप्त गर्न सफल भएको निष्कर्ष निकालिएको छ।

छलफलमा आगामी दिनमा संगठन विस्तार, सदस्यता वृद्धि, जनसम्पर्क सुदृढीकरण र आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्र बनाउने निर्णय गरिएको पार्टीले जनाएको छ । 

भर्खरै सम्पन्न निर्वाचनमा उज्यालो नेपालले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन भने समानुपातिकतर्फ नेपाल परिवर्तन पार्टीको चुनाव चिन्ह बाँसुरीमा मत माग्दै एक लाख ७२ हजार ४८९ मत प्राप्त गरेको थियो ।