Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

मनकामना दर्शन गरेर फर्किएको माइक्रो दुर्घटना, ७ जना भारतीयको मृत्यु

मनकामना मन्दिर दर्शन गरेर फर्किरहेको ईभी माइक्रो बस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्किंदै गरेको माइक्रो बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेका थिए।

प्रहरीका अनुसार घटनास्थलमै ७ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ।

दुर्घटनामा मृत्यु हुनेहरू सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। चालक र सहचालक बाहेक अन्य सबै यात्रुहरू मनकामना मन्दिर दर्शनका लागि आएका भारतीय नागरिक रहेको र फर्कने क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

घटनापछि प्रहरी र स्थानीयवासीको समन्वयमा उद्धार कार्य गरिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।