सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित पार्किङमा राखिएका बसमा आगलागी भएको छ । मंगलबार राति अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेका अनुसार तीनवटा बस जलेर नष्ट भएको छ भने तीनवटा बसमा आंशिक क्षति भएको छ ।
उनले को. १ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको र प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको न्यौपाने नेपाल रैबारलाई जानकारी दिए । साथै को १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको छ ।
उनका अनुसार को १ ख ६२७४ को बसबाट आगो सुरु भएको थियो । विराटनगर–धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको न्यौपानेले बताए ।
न्यौपानेका अनुसार आगलागीको कारण अनुसन्धान भइरहेको छ ।