Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

खाडीमा युद्ध चर्किँदा नेपालीको सुरक्षाका लागि परराष्ट्र मन्त्रालयद्वारा विशेष वेबसाइट सञ्चालन

मध्यपूर्वका खाडी राष्ट्रहरूमा बढ्दो तनाव र युद्धको अवस्थाबीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न परराष्ट्र मन्त्रालय ले विशेष वेबसाइट सञ्चालनमा ल्याएको छ। मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग ले मंगलबारदेखि उक्त वेबसाइट औपचारिक रूपमा सुरु गरेको जनाएको छ।

मन्त्रालयका अनुसार, वेबसाइटमार्फत संकलन गरिने विवरणका आधारमा खाडी मुलुकहरूमा रहेका नेपालीहरूको अवस्थाबारे अद्यावधिक सूचना संकलन गरिनेछ र आवश्यक परे आपत्कालीन उद्धार योजना तयार पारिनेछ। सम्बन्धित देशहरूमा रहेका नेपाली नागरिकहरूले आफ्नो व्यक्तिगत विवरण, बसोबास स्थान र आपत्कालीन सम्पर्क जानकारी वेबसाइटमा प्रविष्ट गर्न सक्नेछन्।

हाल इरान ले संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इजरायल, कतार, कुवेत, बहराइन, ओमान र जोर्डन लगायतका मुलुकहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरिरहेको खबरहरू सार्वजनिक भएका छन्। यस घटनापछि ती क्षेत्रमा कार्यरत १७ लाखभन्दा बढी नेपालीहरू त्रासमा रहेका छन्।

युद्धजन्य परिस्थितिका बीच हालसम्म यूएईमा कार्यरत एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ। सरकारले प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा, उद्धार तथा आवश्यक सहयोगका लागि उच्च सतर्कता अपनाएको जनाएको छ।