Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कप्तान भण्डारीलाई ट्राफिक प्रहरीको आर्थिक सहयोग

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को स्वास्थ्य उपचारका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत प्रहरी कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् । 

उक्त कार्यालयका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालसहित ११७ इच्छुक प्रहरी कर्मचारीहरुले आज संयुक्तरुपमा कप्तान साम्बालाई रु ५० हजार सहयोग गरेका हुन् । राष्ट्रका नाम उच्च बनाउन निर्वाध सङ्घर्षको मैदानमा पसिना बगाउँदै आएका कप्तान साम्बाको स्वास्थ्य उपचारमा सानो भए पनि सहयोग पुगोस् भन्ने ध्येयले सहयोग गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

स्वैच्छिक रुपले प्रहरी कर्मचारीबाट सङ्कलित रकम भण्डारीको व्यक्तिगत खाता रहेको कृषि विकास बैंकको खाता नम्बर ०२१०६०५४१२३०७०१३ मा जम्मा गरिएको उनले बताए । व्यक्तिको सङ्कटमा मानवीय संवेदना र सहकार्य आवश्यक रहेको बताउँदै प्रहरी प्रमुख रिजालले सामाजिक सद्भाव र सहयोगले समाजमा सकरात्मक प्रभाव पार्ने बताए ।