Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

म बाँचुन्जेल सेवा गरिरहन पाउँ : डा रोशन कुमार झा

समाजसेवामा निरन्तर समर्पित चिकित्सक डा रोशन कुमार झा को जन्मदिनको अवसरमा दृष्टिविहीन विद्यार्थीहरूले विशेष साङ्गीतिक प्रस्तुति दिएका छन्। कार्यक्रम काठमाडौंको थापाथलीस्थितजे एण्ड जे हेल्थ एकेडेमीको प्राङ्गणमा सम्पन्न भएको हो।

ब्राइट स्टार सोसाइटीद्वारा आयोजित उक्त कार्यक्रममा सोसाइटीका अध्यक्ष बासुदेव अधिकारीले गीत प्रस्तुत गर्दै उपस्थित सबैलाई मनोरञ्जन गराएका थिए। कार्यक्रममा बोल्दै उनले डा. झा अत्यन्त सहयोगी र समाजप्रति समर्पित व्यक्तित्व भएको बताए। “हामीलाई पाइला–पाइलामा साथ दिनुभएकोमा धन्यवाद छ। व्यस्तताको बाबजुद पनि समय दिनु भएकोमा हामी सदैव आभारी छौँ,” उनले भने। कार्यक्रममा कोषाध्यक्ष सुसिल अधिकारीले किबोर्डमा साथ दिएका थिए भने पेम्बा लामा र झरेन्द्र राईले बाँसुरी वादनमार्फत माहोललाई थप भावुक बनाएका थिए।

किर्तिपुरको लालिगुराँस छात्रावासमा बस्दै आएकी सरिता बनियाले शुभकामना मन्तव्य दिँदै आफ्नो जीवनमा डा. झाले पुर्‍याएको सहयोगको स्मरण गरिन्। २०८२ सालमा ब्राइट स्टार सोसाइटीको सहयोगमा कक्लियर इम्प्लान्ट सर्जरी गराउँदा शिक्षण अस्पतालमा उपचाररत रहँदा राति ९ बजे भेटेर रु २५ हजार सहयोग गरेको अनुभव उनले सुनाइन्। “रोशन सरको आगमनले मलाई चाँडै निको हुन्छु भन्ने आत्मबल थपिदियो,” उनले भावुक हुँदै भनिन्।

a165403f-0706-4d9f-90f6-1f09c04910ee.jpg

कार्यक्रमलाई सम्बोधन गर्दै जे एण्ड जे हेल्थ एकेडेमीका सीईओ डा. झाले उपस्थित सबैप्रति आभार व्यक्त गरे। उनले भने, “केक काटेर भन्दा पनि बिरामीहरूको सेवा गरेर जन्मदिन मनाउनु पर्छ। मेरो लागि प्रत्येक दिन बिरामीको सेवा नै जन्मदिन हो।”

उनले दृष्टिविहीन साथीहरूसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गर्दै गरिब तथा विपन्न बिरामीहरूलाई निःशुल्क उपचार गर्दै आएको बताए। कोरोना महामारीदेखि निरन्तर सामाजिक सेवामा सक्रिय रहेका उनले जीवनभर मानव सेवामा समर्पित रहने उद्घोष गरे। “दृष्टिविहीन साथीहरू मागेर होइन, गरेर खाने आत्मसम्मानी व्यक्तित्व भएको देख्दा मलाई अत्यन्त खुशी लाग्छ,” उनले भने।

२० वर्षभन्दा बढी समय चिकित्सा क्षेत्रमा बिताइसकेका डा. झा कन्सल्टेन्ट फिजिसियन तथा क्लिनिकल कार्डियोलोजिस्ट हुन्। साथै उनी सशस्त्र प्रहरी अस्पतालमा वरिष्ठ चिकित्सकका रूपमा कार्यरत छन्।

डा. रोशन कुमार झाको जन्मोत्सव केवल व्यक्तिगत उत्सव मात्र नभई समाजसेवामा उनको अटूट समर्पण र मानवीय सेवाको प्रतीकका रूपमा मनाइएको छ।