Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एमालेको झण्डा जलाइएको घटनाप्रति अनेरास्ववियुको आपत्ति, कारबाहीको माग

नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले एमालेको झण्डा जलाएको घटनाको कडा निन्दा गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष दिपक धामीले शुक्रबार विज्ञप्ति जारी गरेर राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गरी अरुको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कारविपरीत रहेको बताएका छन् ।

अनेरास्ववियुले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ भने सरकार मौन बसेर अराजकतालाई प्रोत्साहन दिएमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

अनेरास्ववियुले भनेको छ: 

अनेरास्ववियु सदैव राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, विधिको शासन तथा सामाजिक सद्भावको पक्षमा दृढतापूर्व उभिँदै आएको संगठन हो ।

हिजो साँझ दाङ जिल्लामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रममा सहभागी रास्वपा कार्यकर्ताले नेकपा (एमाले) को झण्डा जलाउने जस्तो अमर्यादित र उच्छृङ्खल गतिविधि गरिएको घटनाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता क्रियाकलापले लोकतान्त्रिक मूल्य-मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात पुऱ्याउँछ । राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता हो, तर फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गर्दै अरुको आस्था माथि आक्रमण गर्नु लोकतान्त्रिक संस्कार विपरीत कार्य हो । अनेरास्ववियु यस प्रकारको घटनाको घोर भर्त्सना गर्दछ ।

अतः सम्बन्धित निकायलाई घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न जोडदार माग गर्दछौँ। यदि यस विषयमा सरकार मौन बस्ने वा अराजकतालाई प्रश्रय दिने कार्य गरेमा अनेरास्ववियु सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिन चाहन्छ ।