Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

१२ वर्षपछि टी–२० विश्वकपमा ऐतिहासिक जित

दीपेन्द्र सिंह ऐरीको आक्रामक अर्धशतकले स्कटल्यान्ड पराजित

आईसीसी टी–२० विश्वकप 2026 अन्तर्गत नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले आक्रामक अर्धशतक प्रहार गर्दै उत्कृष्ट फिनिसिङ गरे। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै लगातार दोस्रो अर्धशतक बनाए। टी–२० विश्वकपमा लगातार अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडीसमेत बने।

यस जितसँगै नेपालले १२ वर्षपछि टी–२० विश्वकपमा जित निकाल्न सफल भएको हो। यसअघि नेपालले सन् २०१४ को संस्करणमा अफगानिस्तानलाई पराजित गरेको थियो।

ओपनर कुशल भुर्तेल (४३) र आसिफ शेख (३३) ले ७४ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए। त्यसपछि कप्तान रोहित पौडेल १६ रनमा आउट भए पनि ऐरी र गुल्सन झाले इनिङ्स सम्हाल्दै टोलीलाई जितसम्म पुर्‍याए। गुल्सन झाले अविजित २४ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले सात विकेट गुमाएर १७० रन बनाएको थियो। स्कटल्यान्डका माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए भने जर्ज मुन्सेले २७ रन जोडे।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए। डेथ ओभरमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम पाँच ओभरमा स्कटल्यान्डलाई दबाबमा राखेका थिए।

समूह चरणबाट बाहिरिइसकेको नेपालले अन्तिम खेल जित्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो।  

Screenshot 2026-02-17 224219.png
undefined