Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

बलिवुडका अभिनेता सलमान खानका ९० वर्षीय पिता तथा वरिष्ठ चलचित्र लेखक सलीम खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय मिडिया रिपोर्टका अनुसार खानको आइसीयुमा उपचार भइरहेको छ । चिकित्सकहरूको टोली निरन्तर उनको स्वास्थ्य अवस्थाको निगरानी र उपचारमा जुटिरहेको बताइएको छ ।

अस्पतालमा सलीम खानकी छोरी अलवीरा, नाति अयान तथा ज्वाइँ आयुष शर्मा उपस्थित छन् । अभिनेता सलमान खानलाई केही समयअघि अस्पतालबाट बाहिरिँदै गरेको देखिएको थियो ।

सलीम खान सन् ७० र ८० को दशकमा जावेद अख्तरसँगको सहकार्यमा चर्चित चलचित्रहरूको कथा लेखनका लागि परिचित छन् । उनले अन्दाज, हाथी मेरे साथी, सीता और गीता, यादों की बारात, ज़ंजीर, शोले, दीवार, डॉन, त्रिशूल, काला पत्थर, दोस्ताना, शान, शक्ति र क्रांति लगायतका सफल चलचित्रमा कथा लेखेका थिए ।