आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले १२ वर्षपछि अर्धशतक प्राहर गरेको छ। उपकप्तान दीपेन्द्र सिंह ऐरीको ५८ रनको योगदानमा नेपालले वेस्ट इन्डिजविरुद्ध ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर वेस्ट इन्डिजले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालको सुरुवात कमजोर रह्यो। शीर्षक्रमका ब्याटरहरू लगातार आउट हुँदा नेपाल कम स्कोरमा समेटिने जोखिममा परेको थियो।
मध्यक्रम सम्हाल्ने जिम्मेवारी लिएका दीपेन्द्रले संयमित इनिङ खेले। उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाए। अन्तिम ओभरमा आउट हुनुअघि उनले टोलीलाई प्रतिस्पर्धात्मक लक्ष्यसम्म पुर्याए।
दीपेन्द्रको अर्धशतकसँगै नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। टी(२० विश्वकपमा नेपालको यो दोस्रो अर्धशतक हो। यसअघि सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
खराब सुरुवातका बाबजुद दीपेन्द्रको इनिङले नेपालको ब्याटिङलाई स्थिरता दिँदै खेलमा फर्काएको छ। अब नेपालले बलिङमार्फत लक्ष्य जोगाउने चुनौती सामना गर्नेछ।