प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसार तीव्र पारेका छन्। फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ कलाक्षेत्रको पृष्ठभूमि भएका व्यक्तिहरू उम्मेदवार बनेका छन् भने केही कलाकारहरूले खुला रूपमा दल र उम्मेदवारप्रति समर्थन जनाइरहेका छन्।
केही कलाकारले निश्चित पार्टीप्रति आफ्नो झुकाव सार्वजनिक गरिरहँदा चर्चित अभिनेता दयाहाङ राई भने अहिलेसम्म कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा खुलेका छैनन्। उनले भोट माग्न जनतामाझ जाने आधार स्पष्ट हुनुपर्ने संकेत गरेका छन्।
राजनीतिक दलहरूले घरदैलो अभियान सुरु गरिसके पनि अझैसम्म औपचारिक घोषणापत्र सार्वजनिक नगरेको सन्दर्भमा दयाहाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाएका छन्। “देशमा चुनाव आइराछ। मसँग एक भोट छ। यो भोट माग्ने तपाईंसँग आधार के छ ?” उनले लेखेका छन्।
उनको यो भनाइसँगै चुनावी बहसमा एजेन्डाको विषय थप चर्किएको छ। भोट माग्दै घरगाउँ पुगेका उम्मेदवारहरूसँग मतदाताहरूले पनि अब स्पष्ट चुनावी एजेन्डा र प्रतिबद्धता माग्न थालेका छन्।
चुनाव नजिकिँदै गर्दा समर्थनभन्दा एजेन्डा र विश्वसनीयताको बहस प्राथमिकतामा आउन थालेको देखिन्छ।