Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

उपस्थित नहुने प्रतिनिधिहरुलाई अनलाइन मार्फत मतदानको व्यवस्था गर्न एनआरएनएलाई परराष्ट्रको निर्देशन

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले संघलाई पत्र लेख्दै भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत निर्वाचन मतदानको व्यवस्था गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले पत्रमा भनेको छ- 'गैरआवासीय नेपाली संघको विधान २००३ (संसोधन २०२२) को दफा १४ र सोही विधानको दफा २१.१० मा व्यवस्था भए बमोजिम "निर्वाचन अनलाइन अथवा भौतिक रुपमा उपस्थित भई गर्न सकिनेछ । भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु पर्नेछ ।' भन्ने व्यवस्था भए बमोजिम अधिकतम प्रतिनिधि भौतिकरुपमा उपस्थित हुने र उपस्थित हुन नसक्नेको हकमा विधानको व्यवस्था बमोजिम अनलाइनमार्फत सहभागी हुने गरी गैरआवासीय नेपाली संघको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने यस मन्त्रालयको राय रहेको व्यहोरा निर्देशानुसार अनुरोध छ ।'

परराष्ट्र मन्त्रालयले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको सहभागिता सुनिश्चित गर्नु संघको दायित्व भएको उल्लेख गर्दै, त्यसअनुसार आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी गर्न आग्रह गरेको छ ।