रूपन्देहीको सियारी गाउँपालिका वडा नं. ५ मा रहेको श्री विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरूलाई तिलोत्तमा नगरपालिका वडा नं. २ शङ्कनगर निवासी रोसन पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर माघ १२ गते
सहयोग गरेका छन्।
रोसन पौडेलले रोट्रयाक्ट क्लब अफ साउथ बुटवलमार्फत विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरूलाई शैक्षिक सामग्री, रेकर्डर, ब्रेल पेपर, बाक्सा, पोषाक तथा खाद्यान्नलगायतका सामग्री वितरण गर्दै आएका छन्। उनले विगत आठ वर्षदेखि निरन्तर रूपमा दृष्टिविहिन विद्यार्थीहरूको अध्ययन सहज बनाउन सहयोग गर्दै आएको बताए।
सहयोग गर्न पाउँदा आफूलाई निकै खुशी लागेको रोसन पौडेलको भनाइ छ। सो अवसरमा संस्थाका अध्यक्ष इप्पल भण्डारीले दृष्टिविहिन क्षेत्रको सेवामा गरेको योगदानका कारण संस्थाले आठ देशमध्ये एसिया स्तरको अवार्ड प्राप्त गरेको जानकारी दिए।

त्यसैगरी सियारी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धनपती खरेलले पनि आफ्नो जन्मदिनको अवसरमा खाद्यान्नलगायत विभिन्न सामग्री सहयोग गर्दै आएको र यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिएको बताए।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक कमला भट्टराईले विद्यालय र दृष्टिविहिन छात्रावासबारे जानकारी दिँदै विद्यालयको स्थापना वि.सं. २०२४ सालमा भए पनि दृष्टिविहिन छात्रावास वि.सं. २०६० सालमा स्थापना भएको जानकारी दिइन्। उनले जन्मदिनको अवसरमा सहयोग गर्ने रोसन पौडेल र वडा अध्यक्ष धनपती खरेललाई धन्यवाद दिँदै यस प्रकारको सहयोग निरन्तर रहोस् भन्ने कामना गरिन्। साथै विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू हाल विभिन्न कलेजमा अध्ययनरत रहेको र केही विभिन्न क्षेत्रमा रोजगारीमा संलग्न रहेको जानकारी पनि दिइन्।

कार्यक्रमका प्रमुख अतिथि सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जन्मदिनको शुभकामना व्यक्त गर्दै आजको समयमा जन्मदिनलाई मनोरञ्जनको रूपमा मात्र लिने प्रवृत्ति बढिरहेको बताए। उनले जन्मदिनलाई सामाजिक सेवामा परिणत गरेकोमा विशेष धन्यवाद दिए।
कार्यक्रममा वर्तमान अध्यक्ष सुदीप पौडेल, वडा अध्यक्ष धनपती खरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल ज्ञवालीलगायत अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव शङ्कर काफ्लेले गरेका थिए भने अध्यक्षता संस्थाका अध्यक्ष इप्पल भण्डारीले गरेका थिए। कार्यक्रमको सहजीकरण दृष्टिविहिन स्रोत शिक्षक लोकनाथ सापकोटाले गरेका थिए।