आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताएका छन्। चलचित्र प्रदर्शन भएको पहिलो दिन दर्शक प्रतिक्रिया लिन काठमाडौँका विभिन्न चलचित्र भवन पुगेका अभिनेता शाहले आफूले चाहना राखेको भूमिका चलचित्रमा निर्वाह गर्न पाएको बताए ।
उनले भने, “मैले आफ्नो भूमिकाका विषयमा धेरै खुलाउन मिल्दैन किनकी त्यसले कथा बाहिरिने डर हुन्छ । तर, चलचित्रमा मैले चाहेको जस्तो भूमिका निर्वाह गर्ने मौका पाएको छु, त्यसैले मैले सक्दो मेहनत गरेको छु । यो चलचित्रको कथा हाम्रो परिवार र गाउँ समाजकै हो । चलचित्र हेर्न गएका दर्शकले नै अन्यलाई हेर्न सिफारिस गर्ने भन्ने मेरो विश्वास छ ।”
उक्त चलचित्रमा अभिनेता शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गरे । अभिनेता थापाले विषयवस्तुले आकर्षण गरेका कारण आफू जोडिएको बताए ।
“यस चलचित्रको आकर्षण नै कथा हो । यसमा सबैले उत्तिकै मेहनतका साथ काम गरेका छन् । चलचित्र हेर्न आएका दर्शकले पनि आफ्नै कथा भनेर हामीलाई प्रतिक्रिया दिएको छ”, अभिनेत्री थापाले भने
चन्द्र पन्तले निर्देशन गरेको उक्त चलचित्रमा अभिमन्यु निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन र कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत सिर्जना गरेको छ ।
त्यस्तै, ‘द ब्लू लाइट’ पनि प्रदर्शनमा छन् । उक्त चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानीलगायत कलाकारको अभिनय छ । बेनिशा यो चलचित्रको कार्यकारी निर्माता पनि हुन् । उनले यसको डिजिटल अधिकारसमेत खरिद गरेकी छन् ।
चलचित्रमा निर्देशक चौहान स्वयंको लेखन रहेको छ । यो चलचित्रको रनटाइम १०१ मिनेट छ । सर्टिफिकेट पिजी छ ।