आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा ‘हेभिवेट’ उम्मेदवारहरुसँग महिला उमेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
झापा–५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसले मन्धरा चिमरियालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेसँग कांग्रेसकी मीनाकुमारी खरेल चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन् ।
पूर्वसभामुख देवराज घिमिरेसँग तीन महिला उमेदवार चुनावी मैदानमा उत्रिएका छन् । झापा–२ मा नेपाली कांग्रेसले सरिता प्रसाईंलाई चुनावी मैदानमा उतारेको छन् भने सोही क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीले धर्मशीला चापागाईंलाई उम्मेदवार बनाएका छन् ।
काठमाडौं–५ मा नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ । पाैडेल जेन जी आन्दोलन अगाडी स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए । पौडेलसँगै नेपाली कम्युनिस्ट पार्टीले कल्पना शर्मालाई प्रतिस्पर्धी बनाएको छ ।
पूर्वी रुकुम–१ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उमेदवार बनेका छन् । उनीसँगै कांग्रेसकी कुसुमदेवी थापामगर चुनावी प्रतिस्पर्धामा छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट पूर्वसभामुख इन्दिरा रानामगर प्रतिस्पर्धामा छिन् ।
सुनसरी–३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार पुरानो विरासत फर्काउने योजनामा रहँदा एमालेकी भगवती चौधरी गच्छदारसँगै चुनावी मैदानमा छन् । भगवतीले २०७९ को चुनावमा गच्छदारलाई हराएकी थिइन् ।
धनुषा–३ मा यसअघि २०७९ मा सँगै चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि र नेकपा एमालेकी जुलीकुमारी महतो फेरि भिडन्तमा छन् ।
यस्तै काठमाडौं–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रवीन्द्र मिश्र चुनावी मैदानमा छन् । उनीसँगै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट मेनका भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रन्जु दर्शना प्रतिस्पर्धामा उत्रिएका छन् ।