Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

आफ्नै स्थापना दिवस बिर्सियो नेपाली कांग्रेस !

विशेष महाधिवेशनपछि “पार्टी बदल्यौ, नेतृत्व बदल्यौ, कार्यशैली बदल्यौ” भन्ने दाबी गर्दै आएको नेपाली कांग्रेसले व्यवहारमा भने फेरि एकपटक आफ्नै इतिहासप्रति उदासीनता देखाएको छ। सोमबार, माघ १२ गते नेपाली कांग्रेसको ८० औँ स्थापना दिवस थियो। तर आठ दशक लामो राजनीतिक यात्रा बोकेको पार्टीका लागि यो दिन सामान्य सोमबारजस्तै बित्यो(न केन्द्रमा कार्यक्रम, न प्रदेशमा उत्साह, न त जिल्लामा कुनै औपचारिक स्मरण।

विगतका वर्षहरूमा कांग्रेसले स्थापना दिवसलाई केवल औपचारिक कर्मकाण्डका रूपमा मात्र होइन, संगठन सुदृढीकरण, वैचारिक पुनरावलोकन र कार्यकर्तामा उत्साह भर्ने अवसरका रूपमा प्रयोग गर्दै आएको थियो। केन्द्रदेखि जिल्ला तहसम्म गोष्ठी, अन्तर्क्रिया, रक्तदान, वृक्षारोपण र सम्मान कार्यक्रम हुने गर्थे। तर यसपटक भने “चुनावी चटारो” ले पार्टीको स्मृति र प्राथमिकता दुवै ढाकेको देखियो। 

पार्टी नेतृत्वको व्यवहारले कांग्रेस कुन अवस्थामा छ भन्ने स्पष्ट संकेत गर्छ। सभापति गगन थापा सोमबार आफ्नै चुनावी अभियानका लागि सर्लाहीतर्फ लागे। अन्य शीर्ष नेताहरू पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त रहे। स्थापना दिवस जस्तो ऐतिहासिक दिन पार्टी नेतृत्वको क्यालेन्डरमै नअटाउनु सामान्य संयोग होइन, यो प्राथमिकताको प्रश्न हो। पार्टीको इतिहासभन्दा चुनावी गणित महत्वपूर्ण ठानिएको सन्देश यसबाट स्पष्ट रूपमा गएको छ।

नेपाली कांग्रेसको इतिहास केवल मितिमा सीमित विषय होइन। भारतको कलकत्तामा २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको थियो। निरंकुश राणा शासनविरुद्धको संघर्ष, लोकतन्त्रको स्थापना र बहुदलीय व्यवस्थाको संस्थागत विकासमा कांग्रेसको भूमिका नेपाली राजनीतिक इतिहासको केन्द्रीय अध्याय हो। यही ऐतिहासिक मितिलाई आधार मानेर कांग्रेसले हरेक वर्ष माघ १२ लाई स्थापना दिवसका रूपमा मनाउँदै आएको थियो। तर ८० औँ वर्षगाँठ जस्तो महत्वपूर्ण अवसरमै पार्टी मौन रहनु आफैंमा विडम्बनापूर्ण छ।

रोचक कुरा के छ भने, स्थापना दिवसकै दिन कांग्रेसका दुई महामन्त्री गुरुराज घिमिरे र प्रदीप पौडेलले ७७ वटै जिल्लाका सभापतिहरूलाई संयुक्त परिपत्र जारी गरे। तर उक्त परिपत्रमा पार्टीको स्थापना दिवस, इतिहास वा आठ दशकको यात्रा सम्बन्धी कुनै पनि सन्दर्भ समावेश थिएन। त्यसमा आसन्न निर्वाचनमा प्रचार कार्यक्रम कसरी प्रभावकारी बनाउने भन्ने निर्देशन मात्र थियो। यसले पार्टी नेतृत्वको सोच र प्राथमिकता कहाँ केन्द्रित छ भन्ने अझ प्रष्ट पारेको छ।

यो अवस्था अझ बढी विरोधाभासपूर्ण तब देखिन्छ, जब स्मरण गरिन्छ कि महामन्त्री रहँदा गगन थापाकै प्रस्तावमा कांग्रेसले स्थापना दिवसलाई वार्षिक कार्यतालिकामा समावेश गर्ने निर्णय गरेको थियो। अर्थात्, स्थापना दिवस मनाउने संस्थागत परम्परा स्वयं वर्तमान सभापतिकै पहलमा सुरु भएको थियो। तर आज सभापति बनेपछि सोही परम्परालाई बेवास्ता गर्नु केवल लापरवाही होइन, राजनीतिक असंगतताको उदाहरण पनि हो।

विशेष महाधिवेशनपछि कांग्रेस नेतृत्वले बारम्बार “पार्टी अब विधि, प्रक्रिया र संस्थागत निर्णयबाट चल्छ” भन्ने दाबी गर्दै आएको छ। तर स्थापना दिवसजस्तो संस्थागत रूपमा तय गरिएको कार्यक्रम नै कार्यान्वयन हुन नसक्नुले ती दाबीहरू कागजी र भाषणमै सीमित छन् भन्ने आशंका जन्माएको छ। यदि पार्टी आफ्नै तय गरेको वार्षिक कार्यतालिकाप्रति गम्भीर छैन भने, दीर्घकालीन संगठन सुधार र वैचारिक मजबुतीका कुरा कसरी विश्वसनीय ठहरिन सक्छन्रु

चुनाव नजिकिँदै गर्दा प्रचार–प्रसारमा ध्यान दिनु स्वाभाविक हो। तर चुनावी व्यस्तता पार्टीको इतिहास, मूल्य र पहिचानमाथि भारी पर्नु गम्भीर प्रश्न हो। इतिहासप्रति सम्मान नगर्ने पार्टीले भविष्यमा मतदाताबाट सम्मान पाउने अपेक्षा गर्नु आत्मविरोधाभास हो। स्थापना दिवस मनाउनु केवल औपचारिकता होइन, यो कार्यकर्ता र समर्थकलाई पार्टीसँग भावनात्मक रूपमा जोड्ने महत्वपूर्ण माध्यम हो।

८० वर्ष पूरा गर्नु कुनै सानो उपलब्धि होइन। यो अवधिमा कांग्रेसले सत्ता र प्रतिपक्ष दुवै भूमिकामा रहेर देशको राजनीतिक दिशा निर्धारण गरेको छ। यस्ता उपलब्धिलाई स्मरण गर्ने, कमजोरीको समीक्षा गर्ने र आगामी यात्राका लागि साझा संकल्प गर्ने अवसर पार्टीले आफैं गुमायो। केन्द्र, प्रदेश वा जिल्ला कतै पनि कार्यक्रम नहुनुले कांग्रेसभित्रै उत्साह र एकताको कमी झल्काउँछ।

अन्ततः, नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट परिवर्तन भएको दाबी केवल भाषणमा सीमित नराखी व्यवहारमा उतार्न चाहन्छ भने, आफ्नै इतिहास र संस्थागत परम्पराबाट सुरु गर्नुपर्ने हुन्छ। आफ्नै स्थापना दिवस बिर्सने पार्टीले देशका ठूला एजेन्डा कसरी सम्झने र सम्बोधन गर्ने भन्ने प्रश्न अहिले कांग्रेसकै सामु उभिएको छ।