धरान उपमहानगरपालिकाका पुर्व मेयर तथा निवर्तमान एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)विरुद्ध चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोप लगाइएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनी सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धामा छन् । धरान नगर बाल सञ्जालले आइतबार उनीविरुद्ध उजुरी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय र धरान प्रहरीमा साम्पाङमाथि कारबाहीको मागसहित उजुरी दर्ता गराइएको हो ।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराइएको छ । कानुनविपरीत चुनावी गतिविधिमा संलग्न गराइएको भन्दै बालअधिकारको गम्भीर उल्लंघन भएको जिकिर गरिएको छ ।