Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण : काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदै

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कसुर गरेको आरोपमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर भएको मुद्दा काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ सुरु हुँदैछ । उक्त सुनुवाइका लागि जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पेसी तोकिएको हो । 

संगठित अपराधसहित पाँच अभियोगमा मुद्दा दायर भएको करिब साढे २ वर्षपछि जिल्ला अदालतले अन्तिम सुनुवाइ गर्न लागेको हो । १० जेठ २०८० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो ।

९ वैशाख २०८१ मा पहिले नै प्रतिवादी बनाइएका केशव दुलालसहित ५ जना र ४ साउन २०८१ मा अर्का सन्दिग्ध पात्र बेचन झाविरुद्ध २९ साउन २०८१ मा पूरक अभियोगपत्र दायर भएको थियो । थुनछेक बहस र आदेशबाहेक तीनवटै मुद्दालाई लगाउमा राखेर सुनुवाइ हुँदैछ ।